प्यारामोटर निर्मातालाई कांग्रेसको सहयोग



न्युज अफ नेपाल, हेटौंडा ।

प्यारामोटर निर्माण गरिरहेका सरोज प्रजालाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले नगद सहयोग उपलब्ध गराएको छ । सोमबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा चितवन राप्तिनगर–२, गड्यौलीका सीमान्तकृत समुदायका प्रजालाई नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ तथा उपनेता कृष्णलाल भँडेलले उहाँलाई नगद ५० हजार सहयोग हस्तान्तरण गर्नुभएको हाे ।

यसअघि एकसिटे प्यारामोटर निर्माण गरेको प्रजाले हाल दुई सिटे प्यारामोटर निर्माण गरिरहनुभएको छ । उक्त मोटर निर्माणका लागि २५ लाख लाग्ने उहाँले बताउनु भयो । उहाँका अनुसार उक्त मोटर एकहजार मिटरमाथि र प्रतिघण्टा ६० किलोमिटरको गतिमा उड्नेछ ।

उहाँले २०७४ चैत १ मा एकसिटे प्यारामोटरको सफल परीक्षण गर्नुभएको थियो । उहाँले फागुन महिनाभित्र हाल निर्माणाधीन प्यारामोटरको परीक्षण सम्पन्न गरिसक्ने लक्ष्य लिएको बताउनु भयो ।

उहाँले प्रदेश सरकारले युवा वैज्ञानिक कार्यक्रमअन्तर्गत् सहयोग गर्ने वचन दिए पनि हालसम्म सहयोग रकम उपलब्ध नगराएको भन्दै दुःख व्यक्त गर्नुभयो । आफूले निर्माण गरी करिब ४० मिनेटसम्म एयरक्राफ्ट उडाएर चर्चामा आउनुभएको हो । उहाँले सबैलाई आश्चर्यमा पार्दै आफैंले निर्माण गरेको एयरक्राफ्ट उडान भरेर सकुशल अवतरण गर्नुभएको थियो ।

पूर्वी चितवनको राप्ती नदीतटबाट करिब ४० मिनेट आकाशमा एयरक्राफ्ट सफलतापूर्वक उडान भरेपछि उहाँको चर्चा चुलिएको हो । चितवन प्रहरीले उडान अनुमति नलिएको भन्दै केहीबेर रोकेको थियो । तर, पछि जिल्ला प्रहरी कार्यालयबाट उडान परीक्षण गर्न दिन भनिएपछि सरोजले केहीबेर उडाउनुभयो ।

करिब २ वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी जाँदा खासै राम्रो नभएपछि ५ महिनामै घर फिनुैभएको थियो उहाँ । आफूलाई सरकारले सहयोग गरे नेपालमा व्याबसायिक एयरक्राफ्ट सुरु गर्नसक्ने उहाँले बताउनुभयो ।

कतारमा गाडी चलाउने बाबु मनु चेपाङले पठाएको पैसाबाट उहाँले जहाज बनाउन आवश्यक सामान किन्नुभएको हो । नेपालमा यस्ता एयरक्राफ्टको व्याबसायिक उडान सम्भव रहेको भन्दै उहाँले भन्नुभयो– ‘मलाई सरकारले सहयोग गर्यो भने नेपालको एयरक्राफ्टलाई विश्वभर चिनाएर व्याबसायिक बनाउन सकिन्छ ।’ उहाँले थप्नुभयो– ‘यसले नेपाली पर्यटनलाई समेत बढावा दिन्छ ।’

उहाँले निकै सस्तो मूल्यमा एक पटकमा दुईदेखि ३ घण्टाको यात्रा तय गर्न सकिने बताउनुभयो । बाल्यकालका जंगली कन्दमूल गिठ्ठा÷भ्याकुर खाएर हुर्किनुभएका सरोजले एयरक्राफ्ट बनाएर आफ्नै आँखाअगाडि उडाएपछि स्थानीय खुशी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्