मणिग्रामलाई शुन्य पोलिथिन क्षेत्र घोषणा



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं. ५ (मणिग्राम क्षेत्र) शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ । यो सँगै नगरपालिकाका १७ वटा मध्ये ७ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् ।

नगरपालिकालाई शुन्य पोलिथिन नगर र पूर्ण सरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत सोमबार वडा नंं. ५ शुन्य पोलिथिन वडा घोषणा गरिएको हो ।

सोमबार मणिग्राम चोकमा आयोजित सार्वजनिक समारोहमा वडाभित्रका सात वटै टोल विकास संस्थाका अध्यक्षहरु र वडा अध्यक्ष चेतनारायण भण्डारी लगायतले प्ले कार्ड प्रदर्शन गर्दै घोषणालाई व्यवहारमा कार्यान्वयन गर्ने सामूहिक संकल्प गरेर वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको हो ।

सो अवसरमा बोल्दै राष्ट्रिय सभाका सदस्य एवं वडावासी गोपाल भट्टराईले तिलोत्तमा नगरपालिकाले शुरु गरेको शुन्य पोलिथिन नगर बनाउने अभियान सामान्य विषय नभई सिंगो देशकै लागि उदाहरणीय प्रयास भन्दै कार्यान्वयनमा ध्यान दिन सुझाव दिनु भयो ।

वातावरण प्रदुषण र जलवायु परिवर्तनमा प्लास्टिकजन्य फोहोर मुख्य समस्या रहेको उल्लेख गर्दै भट्टराईले वातावरण संरक्षण र माटोको उर्बराशक्ति जोगाउन सिंगो देशलाई शुन्य पोलिथिन बनाउनुपर्नेमा जोड दिनु भयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले चार महिनामा दैनिक दुई घण्टाका दरले करिब एक लाख नगरवासीले पाँच करोड रुपैयाँ बराबरको श्रमदान गरेर सात वटा वडालाई शुन्य पोलिथिन बनाउन सफल भएको बताउनु भयो ।

नगरवासीले आफ्नो दैनिक आनीबनीमा परिवर्तन गर्नुपर्ने आग्रह गर्दै उहाँले बाहिरका मान्छेले जथाभावी प्लास्टिक र पोलिथिनजन्य फोहोर फालेमा नगद जरिवाना गर्ने गरी कार्यविधि बनेको र छिट्टै कार्यान्वयनमा आउने बताउनु भयो । नगरभित्र एक हजार बढी डस्ट बिन वितरण गरिएको र खुलारुपमा पोलिथिन नफाल्न सचेतनामूलक साइन बोर्ड टाँगिएकाले अब जथाभावी फाल्नेलाई नगर प्रहरीले कारवाही गर्ने बताउनु भयो ।

तिलोत्तमा–५ का वडा अध्यक्ष चेतनारायण भण्डारीले नगरपालिकाको केन्द्र भाग मणिग्राम क्षेत्रसहित वडालाई शुन्य पोलिथिन घोषणा कार्यान्वयनमा टोल विकास संस्था,आमा समूह, विद्यालय,कलेज र उद्योगी–व्यवसायीको इमान्दार साथ चाहिने बताउनु भयो । तिलोत्तमालाई शुन्य पोलिथिन बनाउने अभियानको आयोजक संस्था दीगो वातावरणीय तथा पारिस्थितीय प्रणाली व्यवस्थापन (सिम) नेपालका निपेश ढाका अधिकारीले चार महिनाको अवधिमा तिलोत्तमाका १७ वटै वडाबाट वर्षौंदेखि फ्यांकिएका ३५ हजार बोरा प्लास्टिक र पोलिथिन संकलन भइसकेको र अझै एक तिहाई संकलन गर्न बाँकी रहेको बताउनु भयो ।

फागुन दोस्रो हप्तासम्म करिब २० हजार विद्यार्थी र ५ हजार वौद्धिक वर्ग गरी २५ हजार व्यक्तिलाई वातावरण र जलवायू परिवर्तनबारे प्रशिक्षण दिएर गिनिज बुक अफ वल्र्ड रेकर्ड सहित नगरपालिकालाई शुन्य पोलिथिन नगर बनाउने अभियान अन्तिम चरणमा पुगेको बताउनु भयो ।

उहाँले तिलोत्तमाको यो अभियान नेपालकै लागि गौरवको विषय हुने बताउनु भयो । नगरलाई शुन्य पोलिथिन बनाउन सीम नेपालका ७० जना स्वयंसेवक नगरपालिकाका १७ वटै वडाका टोल-टोल र नगरभित्रका सरकारी र संस्थागत ८५ वटै विद्यालयमा पुगेर सरसफाई, वातावरण संरक्षण र माटोको उर्बरा शक्ति सुरक्षाका लागि प्लास्टिकले पुर्याउने हानी–नोक्सानीबारे प्रशिक्षण दिने गरेको सिम नेपालकी कार्यकारी निर्देशक लक्ष्मी चापागाईले बताइन् ।

यसअघि तिलोत्तमाका वडा नंं. २,४,६,८,९र १६ वडा शुन्य पोलिथिन क्षेत्र घोषित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्