चौथो जिल्लासभा सम्पन्नः गौरवपूर्ण आयोजनाका लागि संघ र प्रदेश सरकारलाई अनुरोध



मोतीराम तिमल्सिना, काभ्रे ।

‘समृद्ध’ काभ्रेपलाञ्चोक जिल्ला बनाउने उद्घोष सहित जिल्लास्तरीय अर्धवार्षिक समीक्षा तथा चौथो जिल्लासभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला समन्वय समितिले ६ महिनामा गरेका निर्णयहरुको अनुमोदन तथा जिल्ला विकास समितिको साविक कोषमा रहेको मौज्दात वितरणको अनुमोदन र बहुबर्षिय गौरवपूर्ण आयोजना कार्यान्वनको माग गर्दै सभा सम्पन्न भएको छ ।

समन्वय समितिका प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न अर्धबार्षिक समिक्षामा संघीय सासद गंगाबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै संघीय सांसद गंगाबहादुर दोङ्गले जिल्लाको समग्र विकासका लागि महत्वपूर्ण योजनाहरु संचालन भईरहेको बताउनु भयो ।

तीनै तहका सरकारले विकासलाई तिब्र बनाउँदै अगाडी बढिरहेको बताउँदै सांसद दोङ्गले जनताले दिएको विश्वासलाई धोका नदिन आग्रह गर्नु भयो । अर्धबार्षिक समिक्षामा १३ वटै तहले गरेका योजनाका बारेमा समिक्षा गरिएको थियो । समापन कार्यक्रममा नगर प्रमुखहरु, गाउँपालिका अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना, उपप्रमुखहरु, उपाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।

जिल्लासभा बैठकले जिल्लाका महत्वपूर्ण आयोजनाहरु सुर्यविनायक धुलिखेल ६ लेन सडक, सुनकोशी इन्द्रावती बहुउदेश्यिय परियोजना, पालिकाहरुको केन्द्रसम्म पुग्ने सडक पक्कि रुपमा निर्माण गर्न संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता प्रेमकुमार तिमल्सिनाले जानकारी दिनु भयो । सभामा उपप्रमुख मञ्जु गौतम, जिल्ला सदस्यहरु, जिल्ला समन्वय अधिकारी सच्युतराज उप्रेती लगायतले जिल्ला समन्वय समितिले खेलिरहेको भूमिकाका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्