होटलमा गरिँदै आएका सरकारी कार्यक्रम अब सरकारी हलमै



न्युज अफ नेपाल, हेटौंडा ।

सरकारी कार्यालयले आफ्नै कार्यालय वा आफ्नो हल नभए अन्य सरकारी कार्यालयको हलमा गर्न मिल्ने कार्यक्रम पनि होटलमा गर्ने प्रचलन छ ।

आफ्नो हल नभए अन्य सरकारी कार्यालयको हलको प्रयोग नगरी तीनै तहका सरकारले होटलमा कार्यक्रम गरेर सरकारी खर्च धेरै खर्च देखाउने परिपाटी बढ्दै गएको छ । कुनै सरकारी कार्यालयले बजेट सक्नका लागि आफ्ना हल हुँदाहुँदै पनि हेटौंडाका महंगा होटलमा कार्यक्रम गर्ने गरेका छन् ।

मकवानपुरका स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय, प्रदेश सरकारका धेरै कार्यक्रम आफ्नै कार्यालयका हल हुँदा पनि पनि हेटौंडाका महंगा होटलमा कार्यक्रम गरिँदै आएको छ । यसविरुद्ध मकवानपुरका प्रमुख जिल्ला अधिकारीले गतिलो जवाफ दिनुभएको छ । उहाँकै प्रयासका कारण सरकारको धेरै रकम बचत पनि भएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट सरकारी कार्यालयको आयोजनामा गरिएका कार्यक्रम महंगा होटल, रेष्टुराँमा गर्दा जाने गर्नुभएको छैन । सरकारी कार्यालयले होटलमा कार्यक्रम गरेर खर्च धेरै देखाउने भएपछि त्यस्ता कार्यक्रममा उहाँ जाने नगर्नुभएको हो ।

जिल्लाका सरकारी कार्यालयले होटलमा गएर कार्यक्रम गरे आफू नजाने प्रमुख जिल्ला अधिकारी भट्टले कार्यालय प्रमुखको बैठकमै जानकारी गराउनुभएको थियो । त्यस्ता कार्यक्रममा सहभागी नहुने भनिएपछि होटलमा आयोजना हुने सरकारी कार्यालयका कार्यक्रम धमाधम सरकारी कार्यालयकै हलमा हुन थालेका छन् ।

दुई वर्षदेखि बागमती प्रदेश सरकारका धेरै कार्यक्रम हेटौंडाका महंगा होटलमा गरेर धेरै रकमको बिल उठाउने परिपाटीलाई प्रजिअको प्रयासले सकारात्मक परिवर्तन ल्याइदिएको छ । दिउँसो कार्यक्रम गर्ने र बेलुका त्यही होटलमा ‘जलपान’ गरी ठूलो रकमको बिल बनाएर कार्यालयमा पेश गर्ने चलनमा केही धक्का लागेको छ ।

यस्तो परिपाटी अन्त्यका लागि अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भट्ट बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्