नाला निमार्णमा लापरबाही, भित्री पर्खालमा प्लास्टर नगरी स्ल्याब हालेर छोपियो



सरोज यादव, विराटनगर ।

विराटनगर–१० मा नाला निर्माणमा लापरबाही गरिएको फेला परेको छ । विराटनगर १० देवकोटाचोकमा निर्माणाधिन नालाको भित्रि पर्खालमा प्लास्टर नगरी स्ल्याब हालेर छोप्ने प्रयास गरिएको हो ।

देवकोटाचोकदेखी उत्तर मालपोततर्फ जाने बाटोमा निर्माणाधिन पश्चिमपट्टि देवकोटा चोकदेखी नर्सिङ क्याम्पसम्मको नालाको प्लास्टर उप्किए पनि फेरी प्लास्टर नगरी स्ल्याबले छोपिएको स्थानीयले जानकारी दिएका छन । केही दिनअघि त्यसक्षेत्रको नाला निर्माण भएको र नालाको भित्री भागमा समेत प्लास्टर गरिएपनि पानी जमेका कारण सोहिदिन प्लास्टर बगेर गएको स्थानीयले जानकारी दिएका छन ।

प्लास्टर बगेका कारण फेरी प्लास्टर गर्नुपर्ने भएपनि प्लास्टर नगरी स्लायब हालेर छोपिएको स्थानीय बिनोद ढकालको भनाई छ । नालाको भित्रि पर्खालमा प्लास्टर नगरिएका कारण नाला कमजोर हुने र छिट्टै भत्किने ढकालले बताउनुभयो । स्थानीयले बिरोध गर्दा समेत निर्माणमा खटिएका ठेकेदारले फेरी प्लास्टर गर्न नमानेको उहाँको भनाई छ ।

देवकोटा चोकदेखी नर्सिङ क्याम्पससम्म नालाको भित्रि प्लास्टर उप्किएको स्थानियले बताएका छन । आशिष निर्माण सेवा प्रालिले निर्माणको जिम्मा लिएको सो क्षेत्रको नाला कटहरी ४ का पेटी ठेकेदार मोहम्मद सहाबुद्धिनले निर्माण गरिरहनु भएको छ । नालाको प्लास्टर उप्किएपनि स्ल्याब हालेर छोपिएको बिषयमा साहाबुद्धिनलाई प्रश्न राख्दा उनले आफुले आशिष निर्माणसंग नापीमा नाला निर्माणको जिम्मा लिएकाले एकै ठाँउमा पटकपटक प्लास्टर गर्न नसक्ने प्रतिक्रिया दिनुभयो ।

सो क्षेत्रका नाला निर्माण गर्दा आफुले पाएको जिम्मा अनुसार नै नालाको भित्रि पर्खाल समेत प्लास्टर गरेको तर साईटमा खटिएका ओभरसियरले नै सोहिदिन नालाको निकास थुन्न लगाएकाले प्लास्टर उप्किएको साहाबुद्धिनको दाबी छ । आफुले नापीमा काम गर्ने जिम्मा लिएका कारण दोहोरो प्लास्टरगर्दा लाग्ने खर्च दिए प्लास्टर गर्न तयार रहेको उनको भनाई छ ।

सो बिषयमा प्रतिक्रिया दिनुहुँदै क्षेत्रीय शहरी विकास परियोजनाका परियोजना ब्यवस्थापक भरत न्यौपानेले निर्माणमा कैफियत नभएको बताउनुभयो । प्लाष्टर गरिएकैदिन पानी छारिएकाले प्लास्टर उप्किएको र त्यो जानकारी आउनासाथ फेरी प्लास्टरगर्न परामर्शदाताका इन्जीनियर हरेकृष्ण मण्डललाई आफुले निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्