लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग



सरोज यादव, विराटनगर ।

भारतीय नाका जोगबनीबाट लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग हुने गरेको पाईएको छ । लागुऔषधसहित साना उमेरका बालबालिका पक्राउ परेसँगै लागुऔषध कारोबारीले पैसा दिने आश देखाएर बालबालिकालाई ओसारपसारमा लगाउने गरेको खुल्दै गएको हो ।

विराटनगर–१२ स्थित आईतबारे चोकबाट लागुऔषध सहित एक बालक पक्राउ परेका छन् । जोगबनीबाट लागुऔषध लिएर अटो टेम्पोमा आउँदै गरेका घर धरान बताउने १४ वर्षीय बालकलाई प्रहरी चौकी बखरीको टोलीले पक्राउ गरेको हो । हवल्दार गंगाबहादुर खत्रीको टोलीले बालकलाई शंका लागी चेकजाँच गर्ने क्रममा बालकको छातीमा टेपले बेरेको अवस्थामा लागुऔषध फेला परेको थियो । बालकको छातीमा डाईजी २५ थान, नर्फिन २५ थान र एभिल २५ थान गरी ७५ थान लागुऔषध फेला परेको थियो ।

लागुऔषध ओसारपसारमा बालकको प्रयोग भएको बताउँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी विश्व अधिकारीले बालकले आफुलाई १५ सय दिने शर्तमा धरान उपमहानगरपालिका–८ बस्ने अनुप भन्ने व्यक्तिले लागुऔषध लिन पठाएर बताएकोले उसलाई लिन पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाईने बताउनुभयो ।

कक्षा ७ मा पढ्दै गरेको बताउने बालकले जोगवनीबाट ३४ सयमा उक्त लागुऔषध किनेको बताएका छन भने उनले समेत लागुऔषध सेवन गरेको पाईएको छ । उनले आफुसँगै लागुऔषध किन्ने दुई जना साथी रहेको तर, उनीहरु जोगबनीमै छुटेको बताएको प्रहरीले जनाएको छ । यसरी लागुऔषधको कारोवारमा ठूल्लै गिरोह रहेको आशंकामा थप अनुशन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्