डोटीमा सेनाको विपत् प्रतिकार्य तालीम सुरु



विमल विष्ट, डोटी ।

डोटीको जिल्ला सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले जिल्लाका स्थानीयतहहरुमा समुदायमा आधारित आपतकालीन (विपत) प्रतिकार्य तालीम दिन सुरु गरेको छ । स्थानीय तहको सहकार्यमा उक्त गणले हाल सम्म जिल्लाको आदर्श, सायल गाउँपालिकामा आज उक्त तालिम सम्पन्न गरिएको हो ।

अन्य स्थानीय तहहरुमा फागुन १ गतेबाट तालिमको आयोजना गरिने सो गणका गणपती तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो– “बिपत आइपरेको बेला कसरी जोगिने तथा कसरी बिपतमा परेका हरुको उद्दार गर्ने भन्ने विषयमा तालिम दिन सुरु गरेका छौँ, जिल्लाका सबै स्थानीय तहमा उक्त तालिम दिइने छ ।”

सेनाले सञ्चालन गरेको उक्त तालिममा विपतबाट जोखिममा परेका व्यक्तिलाई जोगाउने र त्यस्ता व्यक्तिलाई तत्काल राहत उपलब्ध गराउने विषयमा सिकाइने गरिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो– “सेनाले सञ्चालन गरेको आपतकालीन (विपत) प्रतिकार्य तालीम अति उपयोगी छ, बिपतमा परेका बखद कसरी जोगिने भन्ने विषयमा केन्द्रित भएकाले तालिम सबैका लागि उपयोगी छ ।”

तालीममा खोज्ने, उद्दार गर्ने विषयमा तीन चरणका जानकारी गराउनुका साथै अभ्यास पनि गराइने सो गणका सेनानी सन्तोष ढुंगेलले बताउनुभयो । उहाँका अनुसार सहभागीलाई प्राथमिक उपचार, आकस्मिक स्वास्थ्य उपचार, खोप तथा महामारीबाट सुरक्षित हुने उपाय, डुबानमा परेका, बाढीपहिरो र आगलागीमा परेकालाई स्थानीय स्रोत प्रयोग गरी उद्दारबारे जानकारी गराइने छ ।

उक्त गणले जिल्लामा भुकम्प आउदा अपनाउनु पर्ने अवस्था, सावधानी लगायत अन्य बिभिन्न विषयमा जनचेतना मुलक कार्यक्रम सहित बिभिन्न तालिम तथा स्वास्थ्य सिबिरको आयोजना गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्