चलचित्र पत्रकारद्वारा भट्टराईको परिवारलाई एक लाख सहयोग



न्युज अफ नेपाल, हेटौंडा ।

चलचित्र पत्रकार संघ नेपाल मकवानपुरले तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको परिवारलाई एक लाख एक हजार रुपियाँ सहयोग गरेको छ । उक्त रकमको चेक आइतबार हेटौंडामा हस्तान्तरण गरिएको हो ।

भट्टराई परिवार सहयोग समिति संयोजक एवम् विकास बोर्ड पूर्वअध्यक्ष राजकुमार राईलाई चलचित्र पत्रकार संघ मकवानपुर अध्यक्ष मणिराज गौतमले चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण गर्दै अध्यक्ष गौतमले भट्टराईले यस क्षेत्रमा दिएको योगदान सदैंव अमूल्य रहने बताए । कार्यक्रममा भट्टराईको श्रद्धाञ्जलीसभा गरिएको थियो ।

चलचित्र पत्रकार संघ मकवानपुरको चौथो अधिवेशका क्रममा आइतबार सहयोग हस्तान्तरण गरिएको हो । सभामा चलचित्र विकास बोर्ड सदस्य नरेन्द्र महर्जन, ब्रोडकाष्टिङ एसोसिएसन केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाईं, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, चलचित्र संघ द्वितीय उपाध्यक्ष कुवेर शर्मा, चलचित्र पत्रकार संघ मकवानपुर संस्थापक अध्यक्ष कुमार अधिकारी, चलचित्र पत्रकार संघ केन्द्रीय महासचिव अनिल यादब, सचिवद्वय समिर बलामी र बैकुण्ठराज पराजुली तथा सहकोषाध्यक्ष जीवन पराजुलीलगायतको सहभागिता थियो ।

चलचित्र पत्रकार संघ मकवानपुरको चौथो अधिवेशनले गौतमकै अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरेको छ । संघ उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दाहाल, कोषाध्यक्षमा मनोज देबकोटा र सहसचिवमा रवीन्द्र गौतम चयन भएका छन् ।
सदस्यमा सञ्जु रिजाल, दर्शन क्षेत्री, अमृता पराजुली र दीपकसिंह रुम्बा पनि सर्वसम्मत् चयन भएको निर्वाचन समिति संयोजक गिरिजा अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्