एकचालिस देशका बालचित्रकारका चित्र प्रदर्शनीमा



न्युज अफ नेपाल, ललितपुर ।

सहयात्राको आयोजना तथा योङ्ग पिकासोको प्रस्तुतीमा ‘वाङमय शताब्दी पुरुष अन्तर्राष्ट्रिय बालचित्रकला प्रदर्शनी २०२०’ को शुभारम्भ भएको छ ।

पाटन संग्रहालयमा आजबाट ६ दिनसम्म चल्ने प्रदर्शनीमा नेपालका ३० तथा अन्य ४० देशका चित्रसहित जम्मा ७० वटा चित्रहरु प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीमा राखिएको नेपाली चित्रहरु गत माघ १५ गते सम्पन्न “वाङमय शताब्दी पुरुष दोश्रो राष्ट्रिय चित्रकला प्रतियोगिता” का १३ बर्षसम्मको उमेर समूहबाट उत्कृष्ट ३० बालचित्रकारका चित्रहरु रहेका छन् ।
बालचित्रकलामा कार्य गर्ने इटालियन संस्था कलर फर पिसले ४० देशका चित्रहरुको संयोजन गरेको थियो ।

नेपालबाहिरका ४० देशका चित्रहरुमा अबुधावी, अल्वानिया, अर्जेन्टिजा, ब्राजिल, क्यानडा, केप भर्डे, चाइना, क्रोसिया, इक्वेडर, इष्टोनिया, मिक्रोनेसिया, फ्रान्स, जर्मनी, ग्वाटेमाला, भारत, इरान, इटाली, काजकिस्तान, लिभानो, लिभिया, लग्जेम्बर्ग, मेसेडोनिया, मेक्सिको, मंगोलिया, मोरक्को, पेसेबासी, पलाउ, पानामा, पेरु, पोलोनिया, सेन्ट्रल अफ अफ्रिकाना, चेक रिपब्लिक, मोल्डोभा, रोमानिया, रसिया, सिरिया, टोङ्गा, उरुग्वे, संयुक्त राज्य अमेरिका र भानुआतु रहेका छन् ।

प्रदर्शनीको उद्घाटनमा सम्बोधन गर्दै बाग्मती प्रदेशका सांसद राजकाजी महर्जनले प्रदेश सरकारले कलालाई विशेष ध्यान दिएको बताउनुभयो । प्रदेश सरकारबाट निकट भविष्यमा कला र संस्कृतिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु संचालन गर्ने तयारी भइरहेको जानकारी महर्जनले दिनुभयो ।

उद्योग बाणिज्य संघ ललितपुरका पूर्व अध्यक्ष अजरमान जोशीले शताब्दी पुरुषको सम्मानमा यसै बर्ष करिब दुइ दर्जन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । योङ्ग पिकासोका सल्लाहकार शाक्य सुरेनले विश्वलाई हेरेर नेपालमा धेरै कार्यक्रम गर्न सकिने भाव व्यक्त गर्नुभयो ।

योङ्ग पिकासोका निर्देशक अजय देशारले कलर फर पिसको सहकार्यले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बालचित्रकारका चित्रहरुलाई प्रदर्शनी गर्न सफल रहेको बताउनुभयो ।

वाङमय शताब्दी पुरुषका कोरिएका प्रत्यक्ष चित्रहरुमध्ये उत्कृष्ट ३५ चित्रहरुलाई पाटन संग्रहालयको समन्वयमा डा। जोशीको जन्मोत्सव बैसाखमा प्रदर्शनीमा राखिने जानकारी सहयात्रा अध्यक्ष तथा कार्यक्रम संयोजक बाल मुकुन्द आचार्यले दिनुभयो ।

प्रदर्शनी आगामी माघ २९ गतेसम्म पाटन संग्रहालयमा चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्