ब्याजमा रकम लगानी गर्नेलाई घर घेरा हालेर पक्राउ



सञ्जय कार्की, रौतहट ।

सुतिरहेको अबस्थामा मङ्गलबार राती एक जना महिलालाई प्रहरीले लेनदेन कारोबार गरेको आरोपमा घर घेरा हालेर पक्राउ गरेको छ । पक्राउ परेकी श्रेष्ठसंगै चन्द्रपुर नगरपालिका–६ नम्बरको वडा अध्यक्ष खडक बहादुर कुश्वारसहित ८ जनालाई प्रतिबादी बनाइएको छ ।

चन्द्रपुर नगरपालिका–६ निबासी चिना श्रेष्ठलाई ब्याजमा रकम लगानी गरेको आरोपमा प्रहरीले मङ्गलबार राती ११ बजे घर घेरा हालेर पक्राउ गरेको हो । चीना श्रेष्ठ संग चन्द्रपुरका स्थानीयले लिएको रकम तिर्नुको बदला रकम ठगि गरेको भन्दै उल्टै उजुरी हालेपछि प्रहरी गैरकानुनी रुपमा राती ११ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठ लाई घरमा सुतिरहेको अबस्थामा प्रहरीले पक्राउ पुर्जी बिनानै नियन्त्रणमा गरेको भन्दै उनको परिवारले आपति जनाएका छन । जिल्ला अदालत गौरबाट पक्राउ पुर्जी जारी नगरिकनै पक्राउ गरेको भन्दै उनको छोरी रोजीना श्रेष्ठले बन्दि प्रत्यक्षिकरणमा रिट दायर गरेकी छिन ।

जिल्ला अदालत गौरका ३ नम्बर न्यायधिश उमानाथ गौतमले पक्राउ परेकी श्रेष्ठलाई २४ घण्टाभित्र अदालतमा हाजिर गर्न आदेश जारी गर्नु भएको छ तर प्रहरीले म्याद थपका लागि अदालतमा उपश्थित गराउदा आदेश जारी भैसकेपनि ५ नम्बर न्यायधिश चाणकमणी अर्यालले भने प्रहरीलाई अनुसन्धानको लागि पाँच दिनको म्याद अनुमति दिएको जनाइएको छ ।

आफुलाई पीडित भन्नेहरुले गृहमन्त्रालयमा उजुरी दिएपछि प्रहरी प्रधान कार्यालय हुदै जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी आएसंगै मङ्गलबार राती ११ बजे घरमा सुतिरहेकै अबस्थामा श्रेष्ठलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेकी श्रेष्ठलाई प्रहरीले म्याद थप र पक्राउ पुर्जी संगै पेश गर्दा जिल्ला न्यायधिश चाणकमणी अर्यालले पाँच दिनको हिरासतको लागि म्याद दिएको जनाइएको छ । एउटै अदालतबाट बन्दि प्रत्यक्षिकरणमा आदेश र त्यसपछि अर्को ईजलासमा म्याद थप हुनु आश्चर्य रहेको एक कानुन ब्यबसायीले बताए ।

प्रतिक्रिया दिनुहोस्