बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं अझै फरार



पुष्कर बुढाथोकी, भक्तपुर ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई अभद्र व्यवहार गरेको अभियोग लागेका झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई २० दिन खोज्दा पनि भेट्न सकेको छैन । रु २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध आयोगका उपाध्यक्ष डा. गिरीले मानहानीको मुद्दा हालेका थिए । प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा गिरीले उजुरी दिएका थिए ।

अभद्रकै मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पक्राउ गर्ने अनुमति पाए लगत्तै प्रहरी प्रसाईंको भक्तपुरस्थित निकोसेरा नजिकको निवासमा पुगेको थियो ।तर उनी घरमा आलसम्म नभेटिएको प्रहरीको भनाई छ ।महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सविन प्रधानले प्रसाईंं विरुद्ध पक्राउ पुर्जी जारी भएको र उहाँलाई पक्राउ गर्न झापा प्रहरीलाई पनि सम्पर्क गरेको तर त्यहाँ नभेटिएको भन्ने खबर आएको बताउनुभयो। प्रहरी भन्छ,हामी खोज्दैछौं ,उहाँको मोवाईलको स्वीच पनि अफ छ ।

शिक्षा मन्त्री गिरिराज पोखरेल निकट मानिएका उपध्यक्ष गिरीले पनि पत्रकार सम्मेलन नै गरेर प्रसाईंको आरोप खण्डन गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए। प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई गत २ माघमा अभद्र व्यवहार कसुरमा पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

उनले चिकित्सा शिक्षा ऐन जारी भएर आयोग गठन भइसक्दा पनि पूर्वाधार पूरा गरेको मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै असन्तुष्टि जनाएका थिए ।गत मंसिर १५ मा प्रसाईं सम्बन्धनका लागि निवेदन लिएर आयोग कार्यालय पुगेका थिए। गिरीले आवश्यक कागजातसहित सम्बन्धनका लागि आवेदन दिन आग्रह गरेपछि उनीहरूबीच विवाद सुरु भएको हो।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मानहानीको मुद्दा मुद्दा हालेपछि प्रसाईंले गिरीविरुद्ध मुद्दा फिर्ता लिन धम्की दिनुका साथै कुटपिटसम्म गर्ने चेतावनी दिएपछि गिरीले अभद्र व्यवहारको जाहेरी दिएका थिए। मानहानीको मुद्दाका बारेमा काठमाडौं जिल्ला अदालतले पनि प्रसाईंलाई २१ दिनभित्र उपस्थित हुन आदेश दिएको थियो । अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार २१ दिनभित्र आफ्नो कुरा भए लिखित रुपमा अदालत समक्ष राख्न आदेश दिइएको हो।

जिल्ला प्रशासनले पक्राउ गर्न अनुमति दिएको यति दिनसम्म पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीका अनुसार उनको खोजी जारी छ ।

प्रसाईंले भने १० माघमा जिल्ला प्रशासन कार्यालय भक्तपुरको पक्राउ पुर्जीविरुद्ध वारेस मार्फत सर्वोच्च अदालतमा निवेदन दिएका छन् । पक्राउ आदेश रोक्न माग गर्दै रिट दायर भए पनि सर्वोच्चले पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छैन ।सर्वोच्चले १५ दिनभित्र भक्तपुर जिल्ला प्रशासनलाई पक्राउ पुर्जी जारी गर्नुपर्ने कारणसहित लिखित जानकारी दिन आदेश गरेको छ ।

प्रहरी उपरीक्षक प्रधानका अनुसार बिहीबार प्रसाईंले सानोठिमीस्थित आयोगमा १५/१६ जना अनधिकृत व्यक्तिको समूह पठाई हुलदंगा मच्चाएका थिए। उक्त समूहले आयोगका उपाध्यक्षको मानहानी हुने गरी पोस्टर टाँस्नुका साथै आयोगभित्र पर्चासमेत छरेको थियो।

‘उक्त अनधिकृत समूहले आयोग उपाध्यक्ष प्रा.डा. गिरीको मानहानी हुने गरी पोस्टर टाँसे। आयोग कार्यालयमा पर्चासमेत छरे’, उनले भने, ‘उहाँमाथि अभद्र व्यवहार गरियो, अमर्या्दित रुपमा हुलहुज्जत गरिएको थियो।’प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले २० करोड रुपैयाँ मागेको अभिव्यक्ति दिँदै आएका छन्।सत्ताको नजिक रहेका प्रसाईं र गिरीको अन्तर द्धन्द्ध आम चासोको बिषय समेत बनेको छ ।

वारेसमार्फत सर्वोच्चमा रिट दायर गरेका प्रसाईं अचेल सार्वजनिक रूपमा कतै उपस्थित भएका छैनन् । अदालतले पक्राउ अनुमतिविरुद्ध अन्तरिम आदेश जारी गर्नुअघि दुवैपक्षलाई छलफलका लागि बोलाएपछि प्रसाईं समस्यामा परेका छन् । नेकपाको एकता प्रकृयाको बेला तत्कालिन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भक्तपुरस्थित घरमा वार्ता गर्ने वातावरण मिलाई मार्सी चामलको खाना दिएर प्रसाईं चर्चामा आएका थिए ।

उनले दुई कम्युनिष्ट पार्टीलाई एक हुने वातावरण तयार पारेर देशकै लागि योगदान गरेको बताउँदै आएका छन् । डा. गिरी पनि यही सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा पत्याएको र नियुक्त गरेका बिश्वासपात्र नै हुन् ।

अदालतले अन्तरिम आदेश नदिएपछि पक्राउ गर्न बाटो खुलेको बुझेको भक्तपुर प्रहरी भने खोजी जारी रहेको र भेटेलगत्तै नियन्त्रणमा लिने बताउँछ । प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्ष र स्वास्थ्य सेवा बिमा बोर्डको निर्देशक हुँदा देखिको सम्पत्ति विवरण छानबिन गरिनुपर्ने प्रसाईंको माग छ। गिरीले बीएन्डसीका लागि सम्बन्धन दिन गत मंसिर १५ गते द्वारिकाज होटलमा भेटेर पैसा मागेको आरोप प्रसाईंको छ।

यता नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको योग्यताको छानविन गर्न माग गरेकी छिन् ।मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा मेडिकल शिक्षा भित्रको बेथिति सम्बन्धमा सभामुख मार्फत सरकारको ध्यानाकर्षणमा संग्रौलाले गिरीको योग्यताको विषयमा प्रश्न उठाउदै सत्य तथा छानविनको माग गरेकी हुन् ।

’नेपालका निजी मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै फिर्ता गराउन पटकपटक आवाज उठ्दै आएको छ ।’ संग्रौलाले भनिन्,’ विद्यार्थीका अभिभावक, कलेज सञ्चालक र सरकारबीच कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भएको थियो । तर सहमति विपरित कलेजहरुले बढी शुल्क लिइरहेका समाचार आईरहेका छन् । सरकारले आफूसँग भएको सहमति कार्यान्वय भयो कि भएन संसदलाई जानकारी गराउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।’

यसैगरी शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाले पनि यही माघ २४ गतेसम्मपनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि लागेको भ्रष्टाचारमाथि छानबिन भएर कारबाही नभए आफू अनशन बस्ने घोषणा गरेका छन् । गिरीमाथि भ्रष्टाचार गरेको आरोप लागेपछि आफूहरुले यसअघि घोषणा गरेका सामाजिक बहिष्कार लगायतका कार्यक्रमहरु सफल रुपमा सम्पन्न भएको पनि थापाले जानकारी दिए ।तत्काल गिरीमाथि कारबाही नभए आफूले आमरण अनशन सुरु गर्ने चेतावनी दिएका हुन् । उनले आयोगको ढोकैमा अनशन बस्ने जानकारी गराएका छन् ।

आयोगका उपाध्यक्ष डा. गिरीलाई उन्मुक्ति दिलाउनको लागि विभिन्न प्रपञ्च रचिएको र बि.एण्ड.सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई कानूनी डण्डा देखाएर तर्साउन खोजिएको भन्दै थापाले आपत्ति जनाए । उनले भने,‘कारबाही गर्ने हिम्मत भए मलाई गरे हुन्छ।’

(मेडिकल संचालक) जो स्वम पीडित भएँ भनेर न्याय माग्दै छ्न । उसैलाई चै कानुनी डन्डा देखाएर तर्साउने क्रियाकलाप झनै रहस्यमय, षड्यन्त्रपुर्ण रहेको ठहर गरेका छौँ। करोड घुस माग्ने चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरि घुस्याहालाई उन्मुक्ति दिन ठुलै प्रपन्च रचियो,’थापाले भने।

थपाले घुस मागेको आरोपित भ्रष्ट प्रा.डा गिरीलाई तत्काल बर्खास्त गरि छानबिन गरेर कडा भन्दा कडा कारबाही गरिनुपर्ने रहेको छ ।सत्ताकै एक धार नजिक रहेका गिरी र अर्को धार नजिक रहेका प्रसाईं यी दुई बिचको मुद्धाको टुंगो कसरी लाग्ने हो थप चासोको बिषय बन्दै गएको छ ।दुईबिचको मुद्धाको समाधान सत्ताधारी दलभित्रै बाट खोजीने हो वा अझै छताछुल्ल भएर सतहमै देखिने हो टुंगो छैन। त्यसो त अदालती प्रकृयाबाट टुंगिने हो वा चिया कपको तुफान जस्तो त्यत्तिकै मत्थर हुँदै जाने हो त्यसका लागि भने अझै केही समय पर्खनै पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्