मानव सेवा आश्रमको महायज्ञमा दोस्रो दिनमै ४२ लाख संकलन



यमलाल भुसाल, बुटवल ।

मानव सेवा आश्रमको भवन निर्माण र अक्षयकोष स्थापनाका लागि बुटवलमा सञ्चालित महायज्ञमा दोस्रो दिन ४२ लाख रुपैयाँ दान संकलन भएको छ । महायज्ञमा एकदर्जन बढी व्यक्तिबाट गरी ४२ लाख रुपैयाँ संकलन भएको महायज्ञ आयोजक मूल समिति संयोजक लोकनाथ भुसालले जानकारी दिनु भयो ।

‘दोस्रो दिनमै उत्साहजनक रुपमा दान संकलन र जनसहभागिता भयो’–संयोजक भूसालले भन्नु भयो‘मानवीय सेवाका लागि परोपकारी भावनाले आयोजित महायज्ञ भएकाले सबै क्षेत्रबाट सहयोग आउने प्रतिक्रिया पाएका छौं ।’ महायज्ञबाट ११ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको छ । प्रदेश ५ लाई सडक मानवमुक्त बनाई दुईसय जना बेसहारा र असहाय व्यक्तिलाई राखेर पालनपोषण गर्ने उद्देश्यले आयोजित महायज्ञमा लक्ष्य अनुसार आर्थिक संकलन हुनेमा आफूहरु विश्वस्त रहेको महासचिव माधव नेपालले बताउनु भयो ।

महायज्ञका कथावाचक भागवत भाष्कर कमलनयन गौतमले संगीतमय कथावाचन गर्नु भएको छ् भने कलाकारहरुले विभिन्न धार्मिक झाँकी, गीत, नृत्य र नाटक प्रस्तुत गरेका छन् । दोस्रो दिन दानवीर सहित एक हजार बढी सर्वसाधारणको महायज्ञमा उपस्थिति रहेको मूल समितिका सचिव गुनाराम घिमिरेले बताउनु भयो ।

संगीतमय भजनमा नाच्न र रमाउन उत्साहजनक जनसहभागिता हुने गरेको घिमिरेले बताए । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आश्रमले प्रदेश ५ सहित नेपाललाई नै सडक मानवमुक्त बनाउने महान अभियानमा रहेको र त्यसमा पाँच नंं प्रदेश पहिलो हुने बताउनु भयो ।

बुटवल सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटको उत्तरतर्फ खुला चौरमा माघको २७ गतेसम्म सञ्चालन गरिने महायज्ञमा मानव सेवा आश्रमका सद्भावना दुत मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य), हास्य कलाकार मनोज गजुरेल सहित सामाजिक अभियान्ताहरु, राजनीतिज्ञ एर्व धार्मिक सम्प्रदायका धर्मगुरुहरु समेत सहभागि हुने महायज्ञ मूल समितिका सचिव कृष्ण पंगेनीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्