छैटौँ नगरसभाद्वारा बाह्रवटा ऐन,नियम र कार्यविधि स्वीकृत



शिक्षा पन्त, लमजुङ ।
बेसीशहर नगरपालिकाको छैटौँ नगरसभाले १२ वटा ऐन ,नियम र कार्यविधि स्वीकृत गरेको छ ।

गर सभाले संशोधित बजेट, कानून, ऐननियम र कार्यविधि स्वीकृत गरेको नगरपालिकाले जनाएको छ । स्वीकृत ऐन र कार्यविधिमा स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विधेयक, पूर्वाधार, सुशासन, खेलकूद र नगर प्रहरी विधेयक लगायतका रहेका छन् ।

शिक्षा ऐन २०७४ को संशोधन, सार्वजनिक खरीद नियमावली, तालीम सञ्चालन तथा व्यवस्थापन, महिला विकास कार्यक्रम सञ्चालन, पशु विकास, सार्वजनिक समारोह, स्वास्थ्य संस्था सञ्चालन लगायतका कार्यविधि २०७६ लाई सभाले पारित गरेको छ ।

चालू आर्थिक वर्षका लागि कूल संशोधित बजेट रु ७३ करोड ९८ लाख ४८ हजार स्वीकृत गरेको र हालसम्म रु १३ करोड ६९ लाख २६ हजार खर्च भएको छ । उपप्रमुख लक्ष्मीदेवी अधिकारीले संशोधित बजेट तथा छ महिनाको अवधिमा भएको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमा आन्तरिक आय चालू वर्षका लागि रु तीन करोड २८ लाख १० हजार अनुमानित गरिएकामा हालसम्म रु एक करोड ५७ लाख ३० हजार प्राप्त भएको उल्लेख गरिएको छ । त्यस्तै, चालू वर्षका लागि नगरका कूल ४०० योजना रहेकामा हालसम्म ५० प्रतिशत सम्झौता भएको र ३१ योजना सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

पारदर्शी, जनउत्तरदायी र समृद्ध नगर निर्माणमा इमन्दारिता र आर्थिक पारदर्शिताका आधारमा काम अघि बढाइएकोले सबै पक्षको सकारात्मक सहयोगले काम गर्न थप ऊर्जा मिलेको नगरप्रमुख अर्यालको भनाइ छ ।

आर्थिक पक्ष, ऐन तथा कार्यविधि भने प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्