पोखरा विमानस्थलमा पनि कोरोना भाइरसको प्रभाव



न्युज अफ नेपाल, पोखरा ।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि विश्वव्यापी संकटकाल घोषणा गरिएको नोभेल कोरोना भाइरसको प्रभाव देखिएको छ । चीन विषेश ऋण सहयोगमा निर्माणाधीन विमानस्थलमा अधिकांश कामदार चिनिया छन् ।

चीनकै बुहानबाट फैलिएको भाइरस र विमानस्थलमा काम गर्ने कामदार पनि चिनियाँ भएका कारण विमानस्थललाई पनि प्रभाव पर्ने गरेको आयोजना प्रमुख विनेश मुनाकर्मी बताउँछन् ।

काम गर्ने क्रममा समान्य प्रभाव पर्ने गरेको बताउँदै उनले भने, ‘चीन गएका कामदार फर्किन पाएका छैनन् । विमानस्थलका ८० कामदार चीनमा नै रोकिएका छन् । तीमध्ये पुराना कामदार २० जना छन्, भने ६० जनाजति नयाँ कामदार आउन पाएका छैनन् ।

अहिले विमानस्थलमा एक्सेस रोडको ढलान, डेकोरेसन फिनिसिङका लागि नयाँ ६०/६५ जना आउने भनेका थिए । तर कोरोना भाइरसका कारण उनीहरू पनि आउन नपाएको उनी बताउँछन् । उनी भन्छन् ‘कम्पनीबाट नै हामीले उनीहरूलाई चीनमा नै निगरानीमा राख्ने चेकअप गराउने १५ दिनसम्म रोग वा लक्षण नदेखिएमा नेपाल छिर्ने भनेका छौँ ।’

कुनै संक्रमण वा लक्षण नदेखिएर नेपाल आए तापनि पुनः उनीहरूलाई तत्काल काममा नलगाई निगरानीमा नै राख्ने तयारी आयोजनाले गरेको छ । यसका लागि छुट्टै पाँचवटा आइसोलेसन वार्डसमेत परिसरभित्रै खडा गरिएको छ । गत शनिबार नेपाल फर्केका १० जना कामदार तिनै वार्डमा छन् । उनीहरूलाई काममा फर्काउने तयारी गरिरहेको मुनाकर्मीले जानकारी दिए ।

विमानस्थलमा अहिले पनि २०० सम्म चिनियाँ कामदार कार्यरत छन् । करिब २५० जना नेपाली कामदार छन् ।

२०२१ को जुलाईबाट अन्तर्राष्ट्रिय उडान पोखरा विमानस्थलबाट पनि गर्ने योजनामा नागरिक उड्डययन प्राधिकरण रहेको छ । २२ अर्ब रुपैयाँको लागतमा बन्ने विमानस्थल अन्तर्राष्ट्रिय उड्डययन संस्था आईकाओको मापदण्ड अनुरुपको हुनेछ । नेपाल सरकारले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर बनाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्