गण्डकी प्रदेशकै अग्लो क्यानोनिङ्ग पर्यटकको पखाईमा



दुर्गाप्रसाद शर्मा, पर्वत ।

गण्डकी प्रदेशकै अग्लो पर्वतको कुस्मा नगरपालिका–३, दुर्लुङको महभीरमा रहेको छांगारोहण (क्यानोनिङ) ले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तान्न थालेको छ ।

क्यानोनिङ्गका लागि आवश्यक पुर्वाधार बन्न थालेपछि आन्तरिक र बाह्य पर्यटकको पखाईमा बसेको हो ।

साहसिक खेलमा रमाउनेहरु का लागि दुर्लुङको क्यानोनिङ धेरैको रोजाइमा पर्ने छांगारोहण निर्माणका अभियन्ता गोलमान गुरुङले बताउनुभयो । ‘अरु ठाउँका क्यानोनिङमा एउटा मात्रै हुने गरेको छ। तर दुर्लुङमा प्रकृतिले नै उपहार दिएको छ।’ उहाँले भन्नुभयो, ‘एकै ठाउँमा तीन ओटा फरक फरक उचाइका क्यानोनिङ छन्। यहाँ सानो वा ठुलो जुनमा इच्छा लाग्छ आफ्नो साहसअनुसार चढ्न सकिन्छ।

क्यानोनिङमा सिङ्गल र डबल आरोहण गर्ने गरी व्यवस्था मिलाइएका कारण पनि धेरैको रोजाइमा पर्दै जान थालेको हो। गण्डकी प्रदेशका कास्कीको ल्वाङ, बिरेठाँटी त्यस्तै स्याङ्जालगायतका ठाउँमा रहेकामध्ये दुर्लुङमा रहेको क्यानोनिङ सबैभन्दा अग्लो भएको दाबी स्थानियको छ । महभीरको क्यानोनिङ्ग १ सय १५ मिटर उचाइको रहेको छ।

कुस्मा नगरपालिकाको अम्बोटदेखि क्यानोनिङ भएको चनौटे हुँदै कास्की, म्याग्दी र पर्वतकै विभिन्न ठाउँहरुमा पुग्ने गरी पदमार्गको विकास भएको छ भने सदरमुकाम कुस्माबाट सवारीमार्फत आधा घण्टाको समयमा क्यानोनिङमा पुग्न सकिन्छ। क्यानोनिङको छेवैमा रहेको २३ मिटर अग्लो रक क्लाइम्बिङ (डोरीमा झुन्डिएर चट्टानमा चढ्ने) रहेका कारण पनि दुर्लुङ पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्ने वडाध्यक्ष तेजप्रसाद पाध्या बताउँनुहुन्छ । ‘हामीले आफ्नै ठाउँको महत्व चिनेका छैनौँ भनौँ वा यी चिजहरु प्रचारमा आएका छैनन् भनौँ’ उहाँले भने, ‘साहसिक प्रयास गर्नेहरुका लागि यहाँको रक क्लाइम्बिङ र क्यानोनिङ उत्कृष्ट गन्तव्य हुन्।’

हालै मात्रै सफल परीक्षण भएको कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो बन्जी जम्पमा आउने साहसिक पर्यटकको लागि पनि दुर्लुङमा रहेका क्यानोनिङ र रक क्लाइम्बिङ थप आकर्षणका वस्तु रहने अभियन्ता गुरुङले बताउनुभयो ।

पर्यटकीय गन्तव्यमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई फरकफरक दररेट कायम गरिएका भए पनि दुर्लुङमा रहेको होमस्टे, क्यानोनिङ, केभिङ, रक क्लाईम्बीङमा भने दुई थरी मूल्य कायम गरिएको छैन। झन्डै २६ वर्षसम्म बेलायत र हङकङमा बसेपछि जन्म गाउँ बनाउने अभियान बोकेर गाउँ फर्किएका अभियन्ता गुरुङले विदेशी पर्यटकहरुको मनोभावनाअनुसार नै एकै खालको दररेट कायम गरिएको बताउनुभयो।

क्यानोनिङमा अहिलेसम्म झन्डै ३० लाख रुपैयाँ लगानी भएको छ भने त्यो सबै पैसा अभियन्ता गुरुङले नै खर्च गरेका छन्। निर्माणको सबै काम सकेपछि गाउँमा रहेका कुल ५६ घरलाई नै सेयर सदस्य बनाएर गाउँलेहरुलाई पनि यसमा सहभागी बनाएर बसाइँसराइ रोक्ने लक्ष्य रहेको गुरुङको भनाइ छ। होमस्टे निर्माणसहित चलाएको यो अभियानपछि गाउँबाट बसाइँ सरेर जाने क्रम पनि क्रमशः रोकिँदै गएको स्थानीय शिक्षक इन्द्रप्रसाद शर्माले बताउनुभयो ।

दुर्लुङको क्यानोनिङ झन्डै एक वर्ष अगाडिदेखि सञ्चालनमा आएको हो। एक वर्ष अगाडिबाट नै क्लाईम्बीङ सुरु भएको भए पनि अहिलेसम्म पनि औपचारिक उद्घाटन भने भएको छैन। तर पनि यो अवधिमा झन्डै ६० जनाले छांगारोहण गरिसकेका छन्। क्यानोनिङ गर्नको लागि चहानेहरुले ३ देखि ४ हजार रुपैयाँ तिरेर साहसिक खेलको मज्जा लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्