‘बाबा’ को आवरणमा जबर्जस्ती करणी



न्युज अफ नेपाल, हेटौंडा ।

बाराको रमपुर्वा गाउँमा करिब पाँच वर्षदेखि साधु बाबाको भेषमा बस्दै आएकालाई जबर्जस्ती करणी अभियोगमा पक्राउ गरिएको छ । भारतको राजस्थान बुन्दी जिल्ला, थाना पाटन, सिन्ता ग्राम पञ्चायत बस्ने वर्ष ५३ का रामेश्वर भनिने हरिनारायण शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार साँझ करिब साढे ७ बजे पीडितको घरमा खाना खाने बहाना बनाएर बसेका उनले पीडितका परिवारका सदस्यहरु नभएको मौका पारी १३ वर्षीया एक किशोरीलाई करणी गरेका थिए ।

पीडितलाई आफ्नाे चंगुलबाट उम्कन नदिएर धाकधम्की देखाइ जबर्जस्ती कारणी गरी भाग्न लागेको अबस्थामा घरपरिवार लगायत स्थानीयको सहयोगमा उनलाई प्रहरीले पक्राउ गरेको बाराका एसपी विकासराज खनालले बताउनुभयो ।

शर्मालाई इलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट खटिएको प्रहरी टोलीले तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा ल्याएको थियो । उनी उपर पीडित नबालिकाका बुबाले दिएको किटानी जाहेरीका आधारमा बारा जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्धामा ७ दिन म्याद अनुमति लिइ हिरासतमा राखिएको एसपी खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्