आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रदर्शनी सम्पन्न



न्युज अफ नेपाल, ललितपुर ।

समुदाय-प्रहरी साझेदारी अन्तर्गत आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रदर्शनी ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा सोमबार सम्पन्न भएको छ ।  प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुसी तथा महानगरीय प्रहरी प्रभाग पुल्चोक ललितपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

सो अवसरमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थलगत अभ्यासद्वारा अग्निशामक यन्त्रको प्रयोग, विभिन्न विधिबाट ज्वलनशील तरल पदार्थमा हुने आगलागी, शरीरमा हुने आगलागी, एलपीजी ग्यासबाट हुने आगलागी र विद्युत सर्टबाट हुने आगलागी नियन्त्रण सम्बन्धी फायर सेफ्टी डेमोन्स्ट्रेसन र घाईतेलाई ओसार पसार गर्ने तरीका समेत प्रदर्शन गरिएको थियो ।

उक्त विद्यालयका प्रधानाध्यापक फादर जर्ज पीएमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रहरी अधिकृतहरू, सोही विद्यालयका शिक्षक र विद्यार्थीहरू, स्वीडेन सरकार न्याय मन्त्रालयबाट नेपाल लगायत एसियाली मुलुकहरूमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धिकरण परियोजनाका प्रतिनिधिहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्