बलात्कार आरोप लागेका एसएसपीले गरे आत्मसमपर्ण


सरोज यादव, विराटनगर ।

बलात्कार आरोपमा निलम्बनमा परेका एसएसपी सौरभ राणाले आत्मसपर्ण गर्नुभएको छ । बलात्कार आरोपमा जाहेरी दर्ता भएका राणालाई सुनसरी जिल्ला अदालतले आइतबार पक्राउ गर्ने अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएपछि राणा आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनु भएको हो ।

‘उहाँ आफै प्रहरी कार्यालयमा हाजिर हुनु भयो,कानुनी प्रक्रिया शुरु भइसकेको छ,’जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी विनोद शर्माले भन्नुभयो,‘उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ ।’ राणाबाट आफु बलात्कृत भएको भन्दै झापाकी एक महिलाले बिहिबार जाहेरी दर्ता गराउनु भएको थियो । उहाँले आफु विगत १५ बर्षदेखि राणाबाट पीडित भएको जाहेरीमा उल्लेख गर्नुभएको छ ।

पछिल्लो पटक साउनमा इटहरीमा बलात्कार भएको जाहेरीमा उल्लेख गर्नुृभएको थियो । पीडित महिलाको मेडिकल जाँच र घटनास्थलको मुचुल्का पनि प्रहरीले उठाइसकेको छ । यसैबीच जरबरजस्ती करणी आरोपमा प्रहरी नियन्त्रणमा रहेका निलम्बित एसएसपी सौरभ राणाविरुद्ध सोमबार मात्र म्याद थप गरिने भएको छ ।

राणालाई थुनामा राख्न सोमबार म्याद थप गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिनुभयो । ‘आज मेडिकल गर्दा ढिलो भयो,’ उहाँले भन्नुभयो, ‘भोलि म्याद थप हुन्छ ।’ यौन शोषणको लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी राणा शनिबार काठमाडौं जाने तयारीमा हुनुभएको थियो । राणालाई एक महिलामाथि यौन शोषण गरेको उजुरी परेपछि गृहमन्त्रालयले बिहीबार निलम्बन गरेको थियो ।