सरोज यादव, विराटनगर ।
जोरजबरजस्ती भिक्षाटन गरेको कसुरमा प्रहरीले १ दर्जन बढी भारतीय महिला तथा बालिकाहरुलाई सीमा कटाएको छ । विराटनगर महानगरपालिका क्षेत्रमा भिक्षाटन गर्दे हिंडेका समूहलाई प्रहरीले सीमा कटाएको हो ।
समूहमा आएका भारतीय महिला तथा बालबालिकाको समूहले विभिन्न व्यक्तिको पसल र सार्वजनिकस्थलहरुमा जोरजबरजस्ती भिक्षाटन गरिरहेको गुनासो आएपछि वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बेदप्रसाद गौतमको नेतृत्वमा खटिएको प्रहरीले उनीहरुलाई नगरक्षेत्रका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका महिला तथा बालिकाहरुलाई सोधपुछपछि प्रहरीले नसिहत सहित सिमा कटाएको हो । कानुन अनुसार जोरजबरजस्ती भिक्षाटन गर्न नपाईने भए पनि भारतबाट आएका महिला तथा बालिकाहरुको सो समुहले बजारक्षेत्रका विभिन्न घर र पसलमा भिक्षा माग्ने र नदिंदा श्राप दिने भनेर धम्काइरहेको सूचना आएपछि नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालयका डिएसपी गौतमले बताउनुभयो ।
नियन्त्रणमा लिइएका महिला तथा बालिकाहरुलाई अब उपरान्त भिक्षाटन नगर्ने कबोल गराएपछि प्रहरीले आफ्नै भ्यानमा हालेर रानी सीमा कटाएको हो । यसअघि मकालु टेलिभिजनलाई प्रतिक्रिया दिंदै समूहकी नाइके निर्मला रावले भिक्षाटन गर्नु आफुहरुको पेशा रहेको बताउँदै कसैलाई जोरजबस्ती नगरेको दाबी गरेकी थिइन् ।
१ बर्षे दुधे बालकदेखी ३२ बर्षसम्मका महिला तथा युवतीहरुको समूह केही दिनअघि नेपाल प्रवेश गरेको तथा समूहका थप केहि ब्यक्ती जोगबनी रेल्वे स्टेशनमै रहेको जनाइएको छ । भारतको राजस्थान, जोधपुर लुङगा स्टेटबाट सो समूह भिक्षाटन गर्न नेपाल आएको जनाइएको छ ।











प्रतिक्रिया