दौरा–सुरुवालमा  सभामुख सापकोटा



मधुसूदन रायमाझी/सुरेश तामाङ,काठमाडौं ।

भामुख अग्निप्रसाद सापकोटाले दौरा–सुरुवालमा शपथ लिनुभएको छ। यसअघि दुईपटक मन्त्री हुँदा सर्ट, कोट, पाइन्टमै शपथ लिएका सापकोटाले सभामुख बनेपछि औचापरिक पोशाक दौरा–सुरुवालमा शपथ लिनुभएको हो।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिने क्रममा उहाँ यस्तो पहिरनमा देखिनुभएको थियो। आइतबार सभामुखमा निर्वाचित हुँदा सर्ट, पाइन्ट र कोटमा देखिएका सापकोटा शीतल निवासमा दौरा–सुरुवाल, कोट र टोपीमा प्रकट हुँदा सहभागीहरूबीच कानेखुसी चलेको थियो।

शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख सापकोटालाई शपथ खुवाउनुभयो।
शपथ ग्रहणसँगै उहाँले सोमबार नै सिंहदरबारमा पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहण गर्ने क्रममा पनि सभामुख सापकोटाले संसद्को गरिमा बचाइराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रमाणीकरण हुन बाँकी रहेका विधेयकलाई अगाडि बढाउँदै ऐनको रूप दिन प्रतिबद्ध रहने बताउनुभयो।
‘संसद्मा विधेयकको चाङ छ। ती विधेयक प्रमाणीकरण हुन बाँकी रहेको अवस्था छ। त्यसलाई अगाडि बढाउने र ऐनका रूपमा ल्याउने काम पहिलो प्राथमिकता रहन्छ।’ –सभामुख सापकोटाले भन्नुभयो।
उहाँले अमेरिकासँग हुन लागेको बहुचर्चित अनुदान सहायता सम्झौतापत्र (एमसीसी) का विषयमा भने हतार गर्नु नपर्ने धारणा राख्नुभयो। ‘यस विषयमा फरक धारणा रहेको छ। अहिले यो विवाद बहसमा पुगेको छ। यस विषयमा हतार गर्नुपर्ने आवश्यकता छैन।’ –उहाँले बताउनुभयो।

एमसीसीको विषयमा सत्तारूढ दलभित्रै विभिन्न धारमा बहस शुरू भइसकेको अवस्था रहेको उहाँले बताउनुभयो। सर्वाेच्च अदालतमा विचाराधीन मुद्दाका विषयमा आफूले अहिले प्रतिक्रिया दिन उपयुक्त नठानेको बताउँदै सभामुख सापकोटाले भन्नुभयो– ‘मुद्दा सर्वाेच्चमा छ।

अदालतमा विचाराधीन रहेको मुद्दाको विषयमा अहिले केही नबोलौं।’आफ्नै विरोध भइरहेको विषयमा उहाँले लोकतन्त्रमा विरोध भइरहनु स्वाभाविक भएको प्रतिक्रिया दिनुभयो। उहाँले सभामुख पदको शपथ खाइरहँदा राष्ट्रपति निवास बाहिर मानव अधिकारकर्मीले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शन गर्ने अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको थियो।

यसैबीच नवनिर्वाचित सभामुख सापकोटाले नेपाल कम्युनिस्ट पार्टी नेकपा त्यागेको घोषणा गर्नुभएको छ। शपथ ग्रहण गरेलगत्तै उहाँले प्रेस वक्तव्यमार्फत उहाँले नेकपासँगको राजनीतिक संलग्नता त्यागेको बताउनुभएको हो।

चिनियाँ राजदूतसँग भेटवार्ता 

सभामुख सापकोटा र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। सभामुखको कार्यकक्ष सिंहदबारमा आधा घन्टा भएको भेटवार्तामा राजदूत हउ यान्छीले चिनियाँ जनकंग्रेस (संसद्) का अध्यक्ष ली झान्सुले पठाउनुभएको लिखित बधाई तथा शुभकामना सन्देश सभामुख सापकोटालाई प्रदान गर्नुभएको थियो।

सभामुख सापकोटाले शुभकामनाका लागि धन्यवाद दिँदै नेपाल र चीनबीचको सरकार, जनस्तर र संसद्बीचको सम्बन्ध भोलिका दिनमा अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।
विगतमा पनि नेपालको संसद् र चिनियाँ जनकंग्रेसको बीचमा सम्बन्ध रहिआएको प्रसंग उल्लेख गर्दै सभामुख सापकोटाले दुवै देशका संसदीय मैत्री समूहका माध्यमबाट सम्बन्ध अझै विस्तार गर्ने विश्वास दिलाउनुभयो।

उहाँले चीनमा फैलिएको कोरोना भाइरस र त्यसलाई नियन्त्रणमा लिन राष्ट्रपति सी जिनपिङसहित चीन सरकारले गरेको प्रयासको सराहना गर्दै नेपाल पनि यस सन्दर्भमा चीनको साथमा रहेको उल्लेख गर्नुभयो।

राजदूत हउ यान्छीले चिनियाँ जनकंग्रेसका अध्यक्षको तर्फबाट सभामुख सापकोटालाई चीन भ्रमणको निम्तो दिनुभयो। सभामुखको कार्यकाल सफलताको शुभकामना तथा बधाई दिँदै शपथग्रहण गरेको तीन घण्टाभित्रै शिष्टाचार भेटका लागि समय दिनुभएकामा राजदूत यान्छीले धन्यवाद दिनुभयो।

राजदूतले यान्छीले दुई देशका संसद्को बीचमा सम्बन्ध विस्तार गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कोरोना भाइरसका कारण चिनियाँ पर्यटक नेपाल आउने कुरामा कमी आउन र नेपाल भ्रमण वर्षलाई असर पर्न नदिन चीन सरकार सचेत रहेको राजदूत यान्छीको भनाइ थियो।

सभामुखको निवास लैनचौरमा

बालुवाटारस्थित सभामुखको सरकारी निवासमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना बसेपछि सभामुख सापकोटा कपूरधारा (लैनचौर) मा सर्नुहुने भएको छ।

शहरी विकास तथा भवन निर्माण विभागले उहाँलाई यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन र पर्यटनमन्त्री योगेश भट्टराई बस्दै आउनुभएको कपूरधारास्थित सरकारी भवन उपलब्ध गराइने भएको हो।

प्रधानमन्त्रीनिवास बालुवाटार पुनर्निर्माणका लागि भत्काइएपछि प्रधानमन्त्री ओली राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बस्दै आएको बालुवाटारकै नयाँ भवनमा सर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्