नक्कली नोट बनाउने गिरोह मेसिनसहित पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रहरीले नक्कली नोट बनाउने मेसिनसहित चार जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका ७ का कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका १३ बस्ने बल बहादुर राना मगर, डोटी पूर्वी चौकी ३ का आर्यान खड्का र धनकुटा छत्र जोरपटी ३ का छत्र बहादुर लिम्बु रहेका छन् ।

विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले ४ लाख १३ हजार नक्कली नेपाली नोटसहित बुधबार चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नेपाल राष्ट्र बैंक लेखिएको छ ७० ९६१९७४ नम्बरको १ हजार दरको १०७ थान, च८३ ५५३९६६ नम्बरको १ हजार दरको १०५ थान, ज१८ ०७८६७० नम्बरको १ हजार दरको ४५ थान, ग४३ ६६३१७६ नम्बरको १ हजार दरको ९७ थान, ग९७ ०५९६०८ नम्बरको १ हजार दरको ५९ थान गरी कुल १ हजार दरका ४ सय १३ थान नक्कली नोट बरामद गरेको छ ।

यस्तै, उनीहरुको साथबाट १ हजार दरको नोटको ए४ साइजको पेपरमा ४ वटा अट्ने गरी पछाडिको भागको रंगीन फोटोकपी गरेको ३५ थान पेपर, रंगीन फोटोकपी मेसिन र गोल किस्ट कम्पनीको सीपीयू समेत फेला परेको प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जनाएका छन् ।

पक्राउ परेका चारै जनामाथि मुलुकी अपराध संहिता मुद्रा सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान चलरहेको पाण्डेले बताए । यस कसूर अन्तर्गत पक्राउ परेका व्यक्तिलाई मुद्भाको परिमाण र मुल्य विचार गरी ५ बर्ष देखी १० बर्ष सम्म कैद र ५० हजार देखी १ लाख सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्