चिकित्सक संघको निर्वाचनमा प्यानलनै प्यानल



न्युज अफ नेपाल, काठमाडौँ ।

आगामी माघमा हुन गईरहेको नेपाल चिकित्सक संघको निर्वाचनमा उम्मेद्धारी दिएको पेशागत समावेसी समूहले आफ्नो जित सुनिश्चित भएको दावी गर्दै सार्वजनिक गरेको घोषणा पत्रको एजेण्डा ३ को ई मा आफ्नो टीमको जीतपछि स्वास्थ्य पत्रकारलाई ओरियन्टेसन तालिम दिने र त्यस्ता पत्रकारले मात्र रिर्पोटिङ गर्न पाउने व्यवस्था लागु गर्ने उल्लेख गरिएको बिषयमाथी सहभागी पत्रकारहरुले कडा शब्दमा आलोचना गरेका थिए ।

घोषणापत्रमा यस्तो उक्त बुद्धामा हाल स्वास्थ्यसँग सम्बन्धित बिषयमा हुने गरेको गलत रिर्पोटिङको न्यूनीकरणका निम्ति हामी निर्वाचित हुने बित्तिकै सबै मिडियाका सम्पादक, प्रकाशकसँग छलफल गरि नेपाल प्रेस काउन्सिल समेतको सहकार्यमा स्वास्थ्य रिपोर्टिङका लागि अनिवार्य न्यूनतम ओरियन्टेशन तालिमको व्यवस्था गर्ने, त्यस्ता रिपोर्टरले मात्र स्वास्थ्य रिपोर्टिङ गर्ने व्यवस्थाको पहल गर्नेछौ ।

मिडियामा आउने स्वास्थ्य रिपोर्टिङको अनुगमनका लागि प्रेस काउन्सिलसँग सहकार्य गरि छुट्टै डेस्को व्यवस्थागर्न पहल गर्नेछौ, साथै कुनैपनिगलत रिपोर्टिङको तत्काल सक्रियतापूर्वक डटेर प्रतिवाद गर्नेछौ र आवश्यकता अनुसारको कानूनी कारवाहीको पहल गर्नेछौं भनि उल्लेक गरिएको बिषयमा नेपाल मेडिकल काउन्सिलको कार्यक्षेत्र मिडियालाई धम्क्याउने नभै चिकित्सकहरुको हक हित अधिकार र रक्षाका बिषयमा एजेण्डा उठाउने र स्वतन्त्र पत्रकारितालाई हस्तक्षेप नगर्ने हुनुपर्ने समेतका सुझाव सहभागि पत्रकारहरुले दिएको थिए ।

कुनै पनि समाचारमा चित्त नबुझे सम्बन्धित मिडियामा खण्डन गर्ने, नेपाल प्रेस काउन्सिललाई जानकारी गराउने र कानूनी रुपमै अघि बढ्ने बाटा हुँदा हुँदै चिकित्सा क्षेत्रका व्यक्तिले पत्रकारिताका बिषयमा एजेण्डा उठाउँनु जरुरी नभएको भन्दै संचारकर्मीहरुले खरो प्रतिवाद गरेका थिए ।

पत्रकार सम्मेलनमा जारी गरिएको आठ बुद्धे घोषणापत्रमा अपरिपक्व शब्दहरु प्रयोग गरिनुका साथै आफ्नो कार्यक्षेत्र र दायरा समेत स्पष्ट नभएको भान भएको टिप्पणी पत्रकारका साथै सहभागी चिकित्सकहरुले समेत गरेका थिए । प्रजातान्त्रिक समूहले केही दिन अघिनै आफ्ना ५ बुद्धे घोषणापत्र सहित उमेदवारी घोषणा गरेको थियो । त्यसैगरी स्वतन्त्र उमेदवारी पनि घोषणा भैसकेको छ ।

डा. पुष्पमणि खराल अध्यक्ष रहेको सो समूहले आफूहरुसंग नयाँ भिजन

र एजेन्डासंगै समावेसी उम्मेद्धारका कारण जित सुनिश्चित भएको बताउनुभयो । उपाध्यक्ष महिला बाहेक उहाँ लगायत अधिकांश टीम नयाँ र यसपहिला खासै चिकित्सक संघको जिम्मेवारी नसम्हालेका चिकित्सकहरुको टीम रहेकोमा पनि संचारकर्मीहरुले चिकित्सक संघका सदस्यहरुले कसरी चिन्ने र बिजयी गराउने भन्ने प्रश्न गरेका थिए ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतिस्पर्धी लोकतान्त्रिक समूहलाई जित्ने हेतुले नयाँ एजेण्डा र अनुहारका साथ चुनावी मैदानमा उत्रिएको अध्यक्षका दाबेदार खरालले बताउनुभयो । ‘लोकतान्त्रिक समूह लामो समयदेखि संघमा नेतृत्व गरे पनि आम चिकित्सकका पेशागत हक हित र सुरक्षामा ध्यान दिन नसकेको खरालले आरोप लगाउनुभयो ।

‘सुरक्षित पेशा खुशी चिकित्सक’ स्लोगन राखेको यो समूहले संक्रिय नेतृत्व, सदस्यतामा बृद्धि, पेशागत सुरक्षा, स्पेशलाईजेशन, पेशागत अभिबृद्धि, चिकित्सकको स्वास्थ्य एवं गुणस्तरीय जीवन, सरकारी स्वास्थ्य सेवामा सुधार र विविध गरी आठ विषयका ३७ बुदामा घोषणापत्र जारी गरेको छ ।
पत्रकार सम्मेलनमा समावेशी समूह राजनीतिक आस्थामा आधारित नभई पेशागत विविधतामा आधारित समूह भएको दाबी गरिएको थियो ।

अध्यक्ष खरालले त्यसो भनिरहँदा उक्त समूहलाई नेकपा निकट राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन), मधेशी चिकित्सक संघ लगायतले समर्थन रहेको घोषणा सोही मञ्चबाट गरिरहेका थिए ।

सोही अवसरमा एनडीएएनका अध्यक्ष डा सन्तोष पौडेलले चिकित्सक संघलाई गैरराजनीति र समावेशी गराउँदै पेशागत हक हित र सुरक्षाका लागि नयाँ नेतृत्व आवश्यक भएको बताउनुभयो । उहाँले लामो समय देखि चिकित्सक संघ लोकतान्त्रिक पक्ष हावी भईरहेको र पेशागत गतिविधि हुन नसकेको अवस्थाले समग्र चिकित्सक बर्गमा निरासा छाएको, त्यसलाई चिर्न नयाँ नेतृत्व आवश्यक रहेको दावी समेत गर्नुभयो ।

त्यसैगरी मधेशी चिकित्सक संघका डा विनय पञ्जियारले तराई, मधेस, पहाड विभिन्न जातजाति एक भएर सिण्डीकेट भत्काउन आएका छौ । चिकित्सकको काम सधै सडकमा आन्दोलन गर्ने नभै बिरामीको सेवा गर्ने हो ।

त्यसैले हामी पनि लोकतान्त्रिक बिधिलाई स्वीकार्दै चुनावमा आएका छौ । राजनैतिक दबाबमा खडा भएको प्यानलले जितेमा भोलिका दिनमा देशनै खतरामा पर्छ त्यसैले हामीले पेशागत समावेशी समूह बनाएएर त्यसैलाई समर्थन गरेका हौ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्