लुभूको पहिचान जोगाउन औद्योगिक ग्राम



केशव श्रेष्ठ
अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघ
क्षेत्र नं २

ललितपुरको ऐतिहासिक र सांस्कृतिक वस्ती लुभू देशकै एक महत्वपूर्ण कपडा उद्योगका लागि प्रख्यात छ।१९९५ सालमा त्यहाँ स्थानीय अग्रजहरूले हाते तानबाट शुरु गरिएकोे कपडा बुन्ने कार्य हरेक घरमा विस्तार भएको थियो। लुभूको कपडा उद्योगको पहिचान जोगाइरहन उद्योगग्राम बनाउनुपर्ने बहस र छलफल विभिन्न स्तरमा अघि बढिरहेको छ। यसलाई मूर्त रुप दिन ललितपुर उद्योग वाणिज्य संघ क्षेत्र नं २ ले स्थानीय तह, प्रदेश र संघीय सरकारमा लबिङलाई तीव्रता दिइरहेको सन्दर्भमा संघको क्षेत्र नं २ का अध्यक्ष केशव श्रेष्ठसँग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंश:

लुभूमा कपडा उद्योग ग्रामको आवश्यकता किन पर्यो ?

लुभूका हरेक घरमा तानले कपडा बुन्ने भएकाले लुभूलाई ‘मिनी जापान’ भनिन्छ। यसैको पहिचानलाई कायम गर्दै औद्योगिक प्रवद्र्धन गर्न लुभूमा औद्योगिक कपडा ग्राम स्थापना गर्नुपर्ने माग निकै पहिलेदेखि उठेको थियो। ललितपुर उद्योग वाणिज्य संघको क्षेत्र नं २ शाखा स्थापना भएपछि यस विषय जोडतोडले उठेको थियो।

टेक्सटायलसम्बन्धी इन्जिनियरको पनि अभाव भएकाले हामीले एउटा कपडा डिजाइन गर्नुपर्यो भने पनि कपडाको स्याम्पल भारत पठाइ रु २०० पर्ने एक डिजाइनका लागि रु १००० देखि १५०० सम्म तिर्न बाध्य भएका छौं।

लुभूको ऐतिहासिक पहिचान र महत्वलाई निरन्तरता दिनका लागि औद्योगिक ग्राम स्थापना गर्नुपर्ने टड्कारो रहेको छ। ग्राम स्थापना भएमा यहाँको मौलिक सीप र कलाको संरक्षण हुनेछ। अव्यवस्थित र असंगठित रुपमा छरिएर रहेका उद्योगलाई स्थानान्तरण गरी एकीकृत र संगठित रूपमा सञ्चालन गर्नु आवश्यक रहेको छ।

यसका लागि आवश्यक पूर्वाधार तयार संघीय सरकारको अर्थ मन्त्रालय, सांसद र प्रदेश सांसद र स्थानीय तहलाई घच्घच्याइरहेका छौं। ग्राम स्थापनाले अव्यवस्थित र असंगठित रूपमा छरिएर रहेका उद्योगलाई स्थानान्तरण गरी एकीकृत र संगठित रूपमा सञ्चालन गर्न वातावरण निर्माण गर्नेछ।

त्यसै गरी पर्यावरणीय ह्रास र वातावरणीय प्रदूषणबाट मुक्त हुनेछ। २४सै घण्टा उद्योग निर्वाध रूपमा सञ्चालन गरी सक्ने वातावरण तयार हुने विश्वास रहेको छ।

औद्योगिक ग्राम स्थापनाको कुरा कहाँ पुगिरहेको छ ?

औद्योगिक ग्राम बनाउनका लागि विभिन्न चरणमा सम्बन्धित सरोकारवालासँग र उद्योग मन्त्रालयसँग समेत छलफल गरी कामलाई अगाडि बढाएका थियौं। अर्थमन्त्री डा. युवराज खतिवडा, अर्थ सचिवदेखि यस क्षेत्रका संघीय सांसद, प्रदेश सांसद महालक्ष्मी नगरपालिकाका मेयर सबै लुभूमा औद्योगिक ग्राम स्थापना गर्ने कुरामा सहमत छन्।

देशभित्र उद्योग खोल्न र लगानी गर्न चाहने उद्योगीकर्तालाई उद्योग दर्ता, इजाजत सुविधा र सहुलियतसम्बन्धी सेवा लिन निकै कठिनाइ रहेको छ। धेरै निकायमा शुल्क, कर, दस्तुर बुझाउनुपर्ने, नवीकरण र कर विवरण बुझाउनुपर्नेलगायतले गर्दा उद्योग खोल्न र लगानी गर्न लगानीकर्ता हिच्किचाइरहेका छन्।

लामाटार वडा नं. १० मा रहेको सरकारी स्वामित्वमा रहेको करिब २ सय ५० रोपनी जग्गा लिजमा लिई ग्राम स्थापन गर्ने भनी प्रस्ताव राखेका थियौँ। तर सो जग्गा वनको जग्गा भएकाले जग्गा प्राप्तिका लागि वन विभागबाट स्वीकृत लिनुपर्ने अवस्था रहेको छ।

त्यसका लागि कार्यविधि बनाइ निर्णय गर्नुपर्ने भएकाले हालसम्म सो कार्य अघि बढ्न सकेको छैन। सो कार्य अघि बढाउन घरेलु तथा साना उद्योगले १० लाख रुपियाँ विनियोजित गरेको छ। जग्गा प्राप्त हुन नसकेकाले आवश्यक पूर्वाधारको काम रोकिएको छ।

लुभूमा कपडा उद्योगको शुरूआत कसरी भयो ?

लुभु देवननी वडा नं. १ निवासी रामलाल श्रेष्ठले टेक्निकल स्कुल काठमाडौंबाट कपडा बुनाइ तालिम लिनुभयो। तालिम लिएपछि बनेपामा कपडा बुनाइसम्बन्धी आधारभूत तालिम दिने शिक्षकका रूपमा काम गर्नुभएको थियो। उहाँको अगुवाइमा १९९५ सालमा लुभूमा घरेलु उद्योग खोलिएको थियो।

उहाँ र नरबहादुर श्रेष्ठ मिलेर घरघरमा तान तथा कच्चा माल दिएर कपडा बुन्न लगाइएको थियो। यसैको परिणतिस्वरुप लुभूमा व्यावसायिक कपडा उद्योग स्थापना भएको थियो। त्यस बेला धागोको व्यवस्था पनि घरेलुबाट नै गरिन्थ्यो। साथै हातेतानबाट कोरा कपडा मात्रै बुन्ने गर्दथ्यो। रंगाउनुपरेमा काठको बोक्रा रातो माटो आदि प्रयोग गरेर खैरो रंग रगाउने गर्दथ्यो।

पछि गएर उहाँले २००२ सालतिर सो तानको नक्कल गरी हाते तान बनाइयो। कपडा बुन्ने काम विस्तार भयो। वि.सं २०१० देखि २०२५ सालसम्म सक्कली ढाका कपडा बुनिन्थ्यो। २०२५ सालसम्म नेपाल भाषामा वःटाङाबाट पनि कपडा बुन्ने काम हुन्थ्यो।

यसबाट खास गरेर रातो पारी भएको कालो सारी (हाकुगु पर्सी) मात्र बुनिन्थ्यो। यस सारीको प्रयोग अहिलेसम्म चलिरहेको छ, तर हाल आएर उक्त वःटाङाको प्रयोग भने बन्द भइसकेको छ।

त्यसपछि लुभूमा कपडा उद्योगको विकास क्रम कसरी भयो ?

हातेतानबाट शुरु भएको उद्योग २०२६ सालमा आएर नेपालमा बनेको सेमी अटोलुम र २०३१ सालतिर स्वचालित तानको प्रयोगको हुन थाल्यो। अद्र्धस्वचालित तानले हातेतानभन्दा बढी कपडा उत्पादन हुने गरेको थियो।

त्यसपछि स्वचालित तानबाट त्योभन्दा बढी कपडा उत्पादन हुने गर्दथ्यो। यसै क्रममा अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रोनिक्स मेसिनको प्रयोग हुन थाल्यो।

हाल लुभूका कपडा उद्योगहरूले के–कस्तो समस्या व्यर्होनुपरिरहेको छ ?

उद्योग दर्ता मुख्य समस्या रहेको छ। यहाँका उद्योग आफ्नो घरसँग जोडिएर बनाइएको टहरा तथा घरमा उद्योग सञ्चालन गर्दै आइरहेको अवस्था छ। यस क्षेत्रमा धेरैजसो कपडा बुन्ने उद्योग रहेका छन्। सो उद्योगमा सञ्चालित तानको केही आवाज निस्कने भएकाले हाल वस्ती विकासको वृद्धि सँगसँगै घरका आसपासका छिमेकीले कारखाना सञ्चालनमा बाधा अवरोध गर्ने गरेका छन्।

सरकारको औद्योगिक नीतिअनुसार उद्योग दर्ता गर्दा चार किल्लाको सिफारिसको आवश्यकता हुनु, उद्योग सञ्चालन भएको क्षेत्रको चार किल्लाभित्रका कुनै पनि व्यक्तिले उजुरी गरेमा उद्योग बन्द गर्न बाध्य गराउनु पनि अर्को समस्या रहेको छ।

कपडा बुन्ने तालिमको व्यवस्था नहुनु, युवाहरू विदेश पलायन भएसँगै कामदारको अभाव हुनुलगायतका समस्याका कारणले पनि यस क्षेत्रमा टेक्सटायल उद्योग सञ्चालनमा धेरै समस्या आएको अवस्था छ।

अर्र्कोतर्फ बैंकको व्याज दरमा वृद्धि, तालिम अभावको समस्या रहेको छ। उदाहरणका लागि टेक्सटायलसम्बन्धी इन्जिनियरको पनि अभाव भएकाले हामीले एउटा कपडा डिजाइन गर्नुपर्यो भने पनि कपडाको स्याम्पल भारत पठाइ रु २०० पर्ने एक डिजाइनका लागि रु १००० देखि १५०० सम्म तिर्न बाध्य भएका छौं।

वास्तवमा यस किसिमको बुटाका लागि सफ्टवेयरको व्यवस्था भइसकेको भए तापनि नेपालका उद्यमीलाई यस किसिमको सफ्टवेयर सञ्चालन गर्न नजानेका कारण हामी कपडा उद्यमी उद्योग सञ्चालनमा पछाडि परेका छौं।

मुलुक समृद्धिको दिशातर्फ अघि बढिरहेको कतिको अनुभूत गर्नुभएको छ ?

स्थिर सरकार भएकाले संघीयताको मर्मअनुसार देशको आर्थिक समृद्धितिर बढ्ने आशा सबैले गरेका थियौं। समृद्धिको मुख्य आधार भनेको उद्योग क्षेत्रको विकास विस्तार र प्रवद्र्धन नै हो।

सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक तुल्याउन उद्योगको स्थापना र विकासलाई प्राथमिकतामा राख्नुपर्ने हो।

विकासका पूर्वाधार र औद्योगिक ग्रामजस्ता विकास निर्माणका काम द्रूत गतिमा अघि बढेको भए व्यावसायिक वातावरण बन्ने थियो। यसबारे चर्चा र छलफल भइरहेको त छ, तर पनि त्यस दिशातर्फ काम अघि बढ्न सकिरहेको छैन।

के आधारमा यस्तो निष्कर्ष निकाल्नुभएको हो ?

आवश्यक मात्रामा स्वदेशी र विदेशी लगानी भित्रिन सकेको छैन। स्वदेशमै उपलब्ध हुने कच्चा पदार्थसँग सम्बन्धित उद्योग स्थापना हुन सकेको छैन। भएका उद्योगले पनि ठूला परिमाणमा उत्पादन गर्न सकेका छैनन्।

यसको ज्वलन्त उदाहरणका लागि लुभू, बाँडेगाउँ, ठैबका कपडा उद्योगलाई लिन सकिन्छ। यसले गर्दा आयात वर्षेनी बढ्दै गएको छ। यस्तो अवस्थामा लगानीकर्ता पनि उद्योगभन्दा व्यापारतिर बढी झुकाव राख्न थालेका छन्।

राज्यले औद्योगिक विकासका लागि पहल नै नगरेको हो त ?

प्रयास नै नभएको भन्न त मिल्दैन। तर भएका प्रयास पर्याप्त छैन भनौं कि नतिजा दिन नसकेको। २००७ सालमा प्रजातन्त्रका स्थापनापश्चात देशमा औद्योगिकीकरणका लागि विभिन्न प्रयास भएका छन्।

उद्योग दर्तादेखि सेवा प्रवाहसम्मका कार्यलाई व्यवस्थित गर्ने नीति र संरचना पहिलेदेखि नै रहेको छ। औद्योगिक नीति समयसापेक्ष परिर्वतन भइरहेको छ।

उद्योगीलाई प्रोत्साहन गर्न विभिन्न सुविधा र सहुलियत प्रदान गर्ने व्यवस्था रहेकै छन्। तर त्यसको कार्यान्वयन गर्ने इच्छाशक्ति र प्रतिबद्धता भने व्यवहारतः निकै कमजोर रहेको छ।

अहिले व्यवसायीले भोग्नुपरिरहेका मुख्य समस्या के–के हुन् ?

औद्यागिक पूर्वाधार नहुनु, दक्ष जनशक्तिको अभाव रहेको छ। देशभित्र उद्योग खोल्ने र लगानी गर्न चाहने उद्योगीकर्तालाई उद्योग दर्ता, इजाजत सुविधा र सहुलियतसम्बन्धी सेवा लिन निकै कठिनाइ रहेको छ। धेरै निकायमा शुल्क, कर, दस्तुर बुझाउनुपर्ने, नवीकरण र कर विवरण बुझाउनुपर्नेलगायतले गर्दा उद्योग खोल्न र लगानी गर्न लगानीकर्ता हिच्किचाइरहेका छन्।

त्यसैगरी औद्योगिक क्षेत्रका लागि पूर्वाधार भएका ठाउँमा जग्गा पाउन निकै कठिनाइ रहेको छ। जग्गा पाए पनि निकै महँगो रहेको छ। औद्योगिक क्षेत्रभित्रको जग्गा अनावश्यक व्यक्तिले हडप्ने, गैरकानुनी रूपमा चर्काे मूल्यमा किनबेच हुने गरेको छ।

उद्योग स्थापना भएपछि पनि वस्ती बस्ने र कालान्तरमा उद्योगबाट असर परेको भन्दै उद्योग नै बन्द गर्नुपर्ने अवस्था रहेको छ। लगानीकर्तालाई औद्योगिक प्रयोजनका लागि जग्गा प्राप्ती गर्ने कार्य नै कठीन छ।

औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र उत्पादक क्षेत्र निर्माण कार्यमा ढिलाइ भएको छ। यी कारणले अहिले पनि नेपालमा लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्न सकिरहेका छैनन्।

 

https://youtu.be/ut2NR52PHu8

https://youtu.be/nrDDHjN9p24

https://youtu.be/Eyc3w-IOok4

प्रतिक्रिया दिनुहोस्