अमूर्त संस्कृतिको जगेर्ना



अमूर्त संस्कृति संरक्षण गर्नुपर्ने आवाज केही वर्षदेखि निरन्तररूपमा सुनिन थालेको छ । हुनत भौतिक सम्पदा संरक्षणको दाँजोमा अमूर्त संस्कृति संरक्षणको चर्चाले कमै प्राथमिकता पाएको अवश्य हो। यस अवस्थामा सुस्तरी परिवर्तन भई अमूर्त संस्कृतिको महत्वबारे बुझ्ने र बुझाउने प्रयास पनि विभिन्नस्तरबाट हुन थालेका छन् ।

परिणामस्वरूप अमूर्त संस्कृतिको संरक्षणतर्फ राज्यले दायित्व महसुस गर्न थालेको पछिल्ला उदाहरणले संकेत गरेका छन् ।पहिलो सन्र्दभ हो, काठमाडौं महानगरपालिकाले शुरुआत गरेको परम्परागत बाजागाजाका गुरुसम्मान । अमूर्त सम्पदा संरक्षणमा सम्बन्धित समुदायको जागरुकता, चेत, संरक्षणको पहिलो र महत्वपूर्ण सर्त हो ।
अहिलेसम्म जेनतेन सञ्चालन हुँदै आएको संस्कृति, परम्पराका लागि पहिलो श्रेय सम्बन्धित समुदायलाई जान्छ । संघ, प्रदेश र स्थानीय तहले अमूर्त संस्कृति संरक्षणमा समुदायको भूमिकालाई सम्मान गर्दै आवश्यक सहजीकरण गरिदिने मात्र हो । यस दिशामा भएको एउटा उदाहरणीय शुरुआतका रूपमा काठमाडौं महानगरपालिकाले परम्परागत बाजागाजाका गुरुहरुलाई सम्मानसहित वर्षेनी २५ हजार भत्ता दिने कार्यलाई लिन सकिन्छ ।

महानगरपालिकाले गत वर्ष महानगर दिवसको दिन शुरुआत गरेको सो कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको छ । यस वर्ष झन्डै एक सय ७० जना परम्परागत बाजागाजाका गुरुलाई सम्मानसहित भत्ता प्रदान गरिएको थियो । यसले अमूर्त संस्कृति संरक्षणकर्तामा आत्मसम्मान र उत्साहको भाव सञ्चार गरेको छ । यस कार्यलाई अरू स्थानीय तहले पनि उदाहरणका रूपमा लिन सकिन्छ ।
अर्को सन्र्दभ हो, कात्तिक नाच संरक्षणका लागि संघीय सरकार र स्थानीय तहबाट अक्षयकोषका लागि सहयोग गर्ने घोषणा । कात्तिक नाच मल्लकालीन समृद्ध संस्कृति र वैभवको नमुना हो । विश्वकै एउटा विकसित नाट्य परम्परा हो । सरोकारवालाले यसको संरक्षण र व्यवस्थापनका लागि दिगो स्रोत बनाउन १० करोडको अक्षय कोष बनाउने घोषणा गरेका थिए ।

यसै क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोषमा संघीय सरकारबाट १० लाख रुपियाँ हाल्ने घोषणा गर्नुभएको थियो ।कात्तिक नाच सञ्चालन भइरहेको बखत कात्तिक डबलीमा आउनुभई मन्त्री स्वयंले सोको घोषणा गर्नुभएको थियो ।

सोही अवसरमा ललितपुर महानगरपालिका–१६ ले पनि १० लाख रुपियाँ अक्षयकोषमा हाल्ने घोषणा गरेको दुई महिना नबित्दै ललितपुर महानगरपालिकाले एक करोड रुपियाँ हाल्ने घोषणा गरेको छ ।प्रतिबद्धताअनुसार रकम जुट्ने हो भने कात्तिक नाचको निरन्तरतामा तत्कालका लागि खासै समस्या देखिँदैन ।

यस नाच विगतमा रकम अभावले कहिले बन्द हुने त कहिले पर्र्याप्त बजेट नहुँदा नाच धान्नै नसकिने अवस्थाबाट गु्रुज्रिएको थियो । यस अवस्थामा अक्षय कोषमा सहयोग गर्ने प्रतिबद्धता संघ र स्थानीय तहबाट आउनु निकै सकारात्मक रहेको छ ।
अमूर्त सांस्कृतिक सम्पदाका विविध विधाका विषयमा शिक्षा, चेतना अभिवृद्धि र क्षमता विकास गर्न सबै सरोकार पक्ष तथा संघ, प्रदेश र स्थानीय गरी राज्यका तीनवटै तह र सरोकारवाला निकायले ध्यान दिने हो यसको संरक्षण हुनेछ । अमूर्त संस्कृतिको महत्वलाई बुझेर त्यसको सिर्जनात्मक निरन्तरताको सुनिश्चितता गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्