काठमाडौंलाई सडक मानव मुक्त शहर बनाउने घोषणा



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले काठमाडौंलाई सडक मानव मुक्त शहर बनाउन ३ महिने अभियान घोषणा गरेको छ ।

महानगरको २५ औं वार्षिकोत्सवका अवसरमा आइतबार बसन्तपुरमा आयोजित समारोहमा महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले सडक मानव मुक्त शहर अभियानको घोषणा गरे ।

बेसहराहरुलाई आश्रय दिदै आएको मानव सेवा आश्रमको सहयोगमा अभियान सुरु गरिएको हो । मेयर शाक्यका अनुसार ३ महिनासम्म अभियान चलाइने छ । त्यसपछि महानगरलाई सडक मानवमुक्त महानगर घोषणा गरिने छ।

सडक मानवमुक्त बनाउन सबै पक्षसँग सहयोगका लागि शाक्यले अपिल समेत गरे । शाक्यले भने– ‘सडकमा कोहि बेसहरा देख्नु भयो भने तत्कालै सम्पर्क गर्नुहोस, यो अभियानमा सबैको सहयोग आवश्यक छ, सञ्चारकर्मीको त यसमा झन ठूलो भूमिका छ, सहयोग गर्नुहुन म आग्रह गर्न चाहन्छु ।’

आइतबारदेखि नै काठमाडौं महानगरपालिका २४ वर्ष पूरा गरेर २५ औं वर्षमा प्रवेश गरेको छ । २०५२ साल मंसिर २९ गते तत्कालिन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । महानगरपालिका २५ वर्ष पुगेको अवसरमा आइतबार विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाइएको छ ।

२५ वर्ष प्रवेश गरेको अवसरमा आइतबार वसन्तपुरमा आयोजना गरिएको भव्य समारोहकाबीच विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरियो ।

समारोहमा ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरुलाई नगद सहित सम्मान गरिएको छ ।

गत वर्ष जस्तै यसपटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गरिएको छ ।

यसअघि भरतपुर महानगरपालिकालाई सडक मानवमुक्त सहर घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्