चर्चित उद्योगपति कारबाही प्रकरण : पदम ज्योतिलाई वारेन्ट रुप ज्योतिलाई खोर



पदम ज्योति : भारतमा

नेपाल समाचारपत्र, काठमाडौं।

बाँसबारीस्थित शहीद गंगालाल अस्पतालनिकट रहेको ६ आना जग्गाको एउटा प्लट बिक्री प्रकरणका कारण नेपालका राष्ट्रिय उद्योगपतिका रूपमा ख्याति आर्जन गरेको परिवार नै ठगीको आरोपमा कारबाही भोगिरहेको छ।

त्यहाँ रहेको ६ रोपनी ११ आनाको प्लटमध्ये ६ आना ३ पैसा जग्गा खरीद गर्न बैना दिएका वीजेन्द्रकृष्ण मल्लले ठगीको आरोपमा मुद्दा दिएका कारण ज्योति परिवार कारबाहीमा छ।

सो प्लटको सञ्चालक ल्यान्डमार्क डेभलपर्स प्रा.लि. रहेको छ भने यसका सञ्चालकका रूपमा चर्चित उद्योगपति पदम ज्योति, उहाँका भाइ पूर्व अर्थराज्यमन्त्री तथा उद्योगी रुप ज्योतिलगायत कारबाहीमा छन्।

रुप ज्योतिलाई सिंगापुरबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिसकिएको छ भने पदम ज्योतिका नाममा वारेन्ट जारी गरिएको छ।ल्यान्डमार्क डेभलपर्सको मालिक ज्योति सन्स एन्ड कम्पनी रहेको र वीजेन्द्र मल्लले बैना भुक्तानी गर्दा ल्यान्डमार्कले प्राप्ति रसिद दिएको अभिलेखमा छ।


सर्वोच्च अदालतमा रुप ज्योतिले दायर गरेको मुद्दाको कागजातअनुसार ज्योति सन्स एण्ड कम्पनीले ल्यान्डमार्क डेभलपर्सलाई सञ्चालन गर्दछ। यी कम्पनीमा रुप ज्योति, कमला कंसाकार, सौरभ ज्योति, सहृद ज्योति, अभिक ज्योति, पदम ज्योति, मिला सायमीलगायतका शेयर होल्डर छन्।

ल्यान्डमार्क डेभलपर्सका नाममा रहेको यो जग्गालाई ज्योति समूहले २०७१ सालमा हाउजिङ परियोजनाका रूपमा विकास गर्ने योजना बनाई त्यसका लागि सीई कन्स्ट्रक्सनलाई वर्किङ पार्टनरका रूपमा चयन गर्यो। कम्पनीले बाँसबारी कोलोनीका नाममा यसलाई १२ वटा प्लटमा बाँड्यो।

प्राप्त जानकारीअनुसार प्लटिङमध्ये १ देखि ७ नम्बरको प्लट ज्योतिले आफ्ना लागि राखे। सीईले बाँकी पाँचवटा प्लटमा घर बनाएर बिक्री गर्न बैना गर्यो। कित्ता नम्बर २३८ को ०–६–३–२.१६ एक प्लट बालुवाटार बस्ने बीजेन्द्रकृष्ण मल्लले २०७१ जेठ २ मा १० लाख रुपियाँ दिएर बैना गरे। उनले त्यो प्लटको जग्गा र घरका लागि २०७१ भदौ १७ मा १ करोड २६ लाख रुपियाँसमेत बुझाए।

यसअनुसार उनले जम्मा १ करोड ३६ लाख बुझाएको देखिन्छ।रुप ज्योतिले १ देखि ७ नम्बरको प्लटलाई फेरि एउटै बनाएर त्यसमा आफ्ना लागि घर बनाउन थाले। घर बनाउँदै गएपछि उनलाई बाँकी प्लट पनि मिलाएर फराकिलो घर बनाउने इच्छा जाग्यो।

ल्यान्डमार्कको वर्किङ पार्टनर सीईसँग बुकिङ भएका बाँकी पाँचवटा प्लट उनले बुकिङकर्तासँग फिर्ता लिन चाहे। उनले बनिरहेका घरलाई ‘ग्राउन्ड जिरो’ बनाएर त्यसमा बगैंचा बनाउन चाहे। सीईले बुकिङकर्तालाई जग्गा फिर्ता गर्न अनुरोध गर्यो।

बीजेन्द्र मल्ल : उजुरीले काम गर्यो

 

पाँचमध्ये दुई बैनाकर्तालाई उसले आफ्नो पानीपोखरीस्थित हाउजिङ परियोजनामा सार्यो। बाँकी दुईवटाले क्षतिपूर्तिसहित पैसा फिर्ता लिए। बाँकी रह्यो मल्लको प्लट। प्राप्त जानकारीअनुसार मल्लका दाजु रुप ज्योतिका साथी पनि भएका कारण त्यो मामिलालाई त्यहीं मिलाउन पहल भयो।

बैनाकर्ताहरूका अनुसार छलफल चल्दै गर्दा यो विषय ज्योति र मल्लका लागि ‘इगो’का रूपमा विकसित हुन थाल्यो। ज्योति र मल्लबीच विवाद झन् चर्किन थाल्यो। ल्यान्डमार्क डेभलपर्सले गल्ती कबुल गर्नुको सट्टा प्रत्याक्रमण शुरू गर्यो।

उसले उजुरीकर्ता मल्ल, जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी परिसर टेकुलाई विपक्षी बनाएर २०७५ असारमा मुद्दा हाल्यो।बुकिङ गरेको जग्गा नै बिक्री भएपछि ज्योति र मल्लबीच विवाद झन् चर्किन थाल्यो।

ल्यान्डमार्क डेभलपर्सले गल्ती कबुल गर्नुको सट्टा प्रत्याक्रमण शुरू गर्यो। उसले उजुरीकर्ता मल्ल, जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी परिसर टेकुलाई विपक्षी बनाएर २०७५ असारमा मुद्दा हाल्यो।

मुद्दा हालेको तीन महिनापछि न्यायाधीश कविप्रसाद न्यौपानेले यो मुद्दा खारेज गर्नुभयो। ज्योतिले सर्वोच्चमा दायर गरेको निवेदनअनुसार न्यायाधीश न्यौपानेले मुद्दा खारेज गर्दै यस विषयलाई देवानी दायित्वको विषय भएको व्याख्या गर्नुभयो।

जिल्ला अदालतको फैसलापछि ज्योतिले मल्ललाई पैसा फिर्ता दिन चाहे। यो प्रक्रियामा सहभागी एक अधिकारीकाअनुसार, ज्योति मल्ललाई साँवा तथा चलनचल्तीको व्याज तिर्न चाहन्थे भने मल्लले ज्योतिसँग सात करोड रुपियाँ माग गर्नुभयो।

सिईले दुवै पक्षलाई मिलाएर यो विषयलाई चार करोड रुपियाँमा टुंग्याउन चाह्यो। तर ज्योति र मल्लबीच सिर्जना भएको इगोका कारण समस्या सुल्झेन। मल्ल ज्योतिलाई थुनाउनै चाहनुहुन्थ्यो। ज्योतिले विषयलाई अदालती प्रक्रियाबाटै टुंग्याउन खोज्नुभयो।

उहाँले मल्ललाई एक करोड ३६ लाख रुपियाँ तिर्न चाहेको र त्यसको चलनचल्तीको व्याज पनि तिर्न राजी भएको जानकारी गराउँदै २०७५ मंसिर १३ मा जिल्ला अदालतमा निवेदन दिनुभयो।

तर मल्लले मंसिर १६ गते ज्योतिले ठगी गरेको भन्दै निवेदन लिएर महानगरीय प्रहरी परिसरमा उजुरी दिनुभयो। उहाँको निवेदनका आधारमा जिल्ला अदालत काठमाडौंले ज्योतिलाई पक्राउ पुर्जी जारी गर्यो।

जिल्ला अदालतको पक्राउ पुजीविरुद्ध ज्योति मंसिर २४ गते सर्वोच्च अदालत जानुभयो। सर्वोच्चले जिल्ला अदालतको पक्राउ पुर्जीमा स्टे अर्डर जारी गरेपनि कात्तिक १८ गते अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतले आफ्नो स्टे अर्डर खारेज गर्यो।

बिहीबार साँझ सिंगापुरबाट फर्कदै गर्दा प्रहरीले त्रिभुवन विमानस्थलबाटै ७१ वर्षे रुप ज्योतिलाई पक्राउ गर्यो। उहाँ छोरी सुरुचीका साथ पक्राउ पर्नुभएको हो। ३४ वर्षीया छोरी सुरुची पनि अहिले प्रहरी हिरासतमा हुनुहुन्छ। यस बेला रुप ज्योतिका दाजु पद्म ज्योति भारतमा हुनुहुन्छ। पद्म ज्योतिका दुई छोरा सौरभ र सहृदय जापानमा छ।

स्मरण रहोस्, यतिखेर रुप ज्योतिले ल्याण्डमार्कको सञ्चालक आफू नभएको दावी गरिरहँदा सिई कन्स्ट्रक्सन कम्पनीको महाप्रवन्धकले लेखेको पत्रमा डा. रुप ज्योति ल्याण्डमार्क डिभ्लपर्स भनी सम्बोधन गरेको अभिलेखले देखाउँछ। ज्योतिसम्बन्धी मुद्दामा एफएनसीसीआई, नेपाल चेम्बर अफ कमर्स, सीएनआईलगायतका व्यापारिक प्रतिस्थानहरूले खुलेर समर्थन गरेको देखिँदैन।

म दोषी छैन

 

डीबी बुढाथोकी, काठमाडौं

ठगी आरोपमा पक्राउ परेका डा. रुप ज्योतिले आफू निर्दोष भएको दाबी गर्नुभएको छ।‘वीजेन्द्रकृष्ण मल्लको पैसा आफू र आफू संलग्न रहेको कम्पनी ल्यान्डमार्कले बुझेको नभई सीई कन्स्ट्रक्सनका सञ्चालक शम्भु फुयालले बुझेको हो’, उहाँ भन्नुहुन्छ– ‘म ल्यान्डमार्कको सञ्चालक होइन, केही शेयर मात्र लिएको हो।

बाँसबारी कोलनीको १९ नं. प्लटको जग्गाको बिक्रीमा मेरो कुनै हात छैन। मलाई फसाइएको मात्र हो।’ज्योतिले सर्वोच्च अदालतमा दिनुभएको निवेदनमा सो दाबी गर्नुभएको हो। सीई कन्स्ट्रक्सन र ल्यान्डमार्क साझेदारीमा काम गरिरहका कम्पनी हुन्।

प्रारम्भमा सिईले भवन निर्माण गर्ने र ल्यानमार्कले जग्गा प्लटिङको जिम्मा लिएकाको र एक आपसमा गडबडी सृजना भएपछि सिईलाई जग्गा सम्याउने जिम्मा दिइयो। सोही समयमा बाँसबारीस्थित प्लट १९ नं. १९ को ०–६–३–२ क्षेत्रफलको जग्गा २ करोड १४ लाख १९ हजार मूल्य तय गरी मल्ललाई सिईले बिक्री गरेको थियो।

उक्त जग्गामा डिजाईन बमोजिम २ वर्षभित्र घर निर्माण गरी हस्तान्तरण गर्ने गरी सिईका संचालक मल्लबाट दुईपटक गरी १ करोड ३६ लाख ७५ हजार सिईको सञ्चालक शम्भु फुयालद्वारा बुझिएकोे थियो।

फुयाँलले बिल भपाई भने ल्यान्डमार्कको कम्पनीको प्रयोग गर्नुभएको थियो। मल्लले २०७१ भदौ ५ मा जग्गा वापत रकम बुझाए पनि अझै उहाँको स्वामित्वमा घरजग्गा आउन सकेको छैन।

ज्योतिका पक्षमा आज जुलुस

ज्योति परिवारमाथि यस प्रकारको कारबाही गर्नु नहुने भन्दै समर्थक व्यवसायीहरूले आज बिहीबार काठमाडौंको नयाँसडकमा बिहान १० बजे भेला गरी जुलुस प्रदर्शन गर्ने भएका छन्।

नेपाल समाचारपत्रलाई प्राप्त जानकारीअनुसार फौजदारी अभियोगसरह कारबाही चलाउनु आपत्तिजनक छ भन्दै भेला तथा जुलुस प्रदर्शन गर्न लागिएको हो।
देवानी दायित्वको विषयमा प्रशासनले ज्योति समूहमाथि यस प्रकारको धरपकड गर्नु नहुने धारणा समूहको पक्षमा रहेका व्यक्तिको छ।

त्यसमाथि सर्वोच्च अदालतले पूर्णपाठ जारी नगर्दै र सरोकारवाला पक्ष मौन रहिरहेका बेला प्रहरीले ज्योतिसमूहका व्यक्तिलाई पक्राउ गर्न किन यति धेरै हडबडी देखायो भन्ने उनीहरूको प्रश्न छ।

यसअघि पनि यस प्रकारको भेला भएको थियो। गत साता असनमा भएको भेलामा ज्योति समूह र उदय समाजबाट सहभागी भएका करिब डेढ सयको उपस्थिति थियो।

यो पनि……

‘सरोगेसी’ले दियो ज्योति परिवारलाई ठूलो धक्का

कर फछ्र्योट आयोगमा ज्योति ग्रुपको लामो हात

प्रतिक्रिया दिनुहोस्