ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग

0
Shares

काठमाडौं, (नेस)।

नेपाल पत्रकार महासंघका सभासद् तथा योहो टेलिभिजनका समाचार प्रमुख शिव लम्साललाई टेलिभिजनमा प्रसारित समाचारको विषयलाई लिएर ब्लुक्रस अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काठमाडौं त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तजनले अस्पतालविरुद्ध आन्दोलन गरेको विषयमा कात्तिक १६ गते यो हो टेलिभिजनले रिपोर्ट प्रसारण गरेपछि सदस्य सचिव श्रेष्ठले पत्रकार लम्साललाई ५/७ दिन अगाडिदेखि फेसबुकमा गालीगलौजको मेसेज पठाउनुका साथै कात्तिक २३ गते बिहान टेलिफोनबाट मारिदिने धम्की दिएको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझे या गुनोस रहे त्यसको उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई भौतिक कारबाहीको धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी काम भएको भन्दै महासंघले यस्तो धम्कीको घोर निन्दा र भत्र्सना गरेको छ।

धम्की दिने श्रेष्ठमाथि तत्काल कानुनी कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं स्वतन्त्र र सुरक्षित पत्रकारिताको प्रत्याभूति दिलाउन सरकारसँग महासंघले माग गरेको छ।