भगवती तिमल्सिना, काठमाडौं।
नेपालभर १६ हजारभन्दा बढी सदस्य रहेको कांग्रेसनिकट नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरेले ३ सय ३१ मत ल्याई विजयी हुनुभएको छ। घिमिरेका प्रत्याशी निवर्तमान सहअध्यक्ष ओमप्रसाद उपाध्यायले २ सय १७ मत ल्याउनुभएको थियो। घिमिरेले उपाध्यायलाई १ सय १४ मतले पछि पार्दै अध्यक्ष पदका लागि निर्वाचित हुनुभएको हो।
मतदान प्रकृयामा ५ सय ७२ मत खसेको थियो। मत गणना ७ बजेसम्म जारी थियो। देशभरका ७ सय बढी प्रतिनिधिको उपस्थिति रहे पनि सधै तीनै टिमको हालीमुहाली भएको भन्दै केही प्रतिनिधिहरुले मतदान नै नगरी बाहिरिएका थिए। आइतबार भएको नयाँ कार्यसमिति चयनका लागि कुल ८३ पदका लागि निर्वाचन गरिएको छ।
२ वर्ष ढिलो गरी भएको महाधिवेशनमा घिमिरे दुई कार्यकालको ८ वर्ष र अतिरिक्त २ वर्ष गरी १० वर्षदेखि संघको नेतृत्वमा हुनुहुन्छ। उहाँ कांग्रेस सभापति शेरबहादुर देउवानिकट भएको र प्रत्याशी उपाध्याय देउवाइतर खेमाको उम्मेदवारका रूपमा भएको सहभागीहरुले जनाएका छन्।
महासचिवमा दीपक भट्ट ३ सय १९ मत ल्याएर निर्वाचित हुनुभएको छ। महासचिवमा भट्ट र शंकर कँडेलबीच प्रतिस्पर्धामा भएको थियो। कँडेलले २ सय २० मत प्राप्त भएको छ।
यस्तै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह २ सय ६२ मत ल्याई निर्वाचित हुनुभएको छ।
वरिष्ठ उपाध्यक्षमा साहसहित दीपक मुडभरी र भवानी शर्मा प्रतिस्पर्धामा उत्रिएका थिए। मुडभरी र शर्माले क्रमशः १ सय ६७ र ९९ मत प्राप्त गरेका छन्।
महिला उपाध्यक्षमा रमिला चौलागाईं ३ सय ३१ मत ल्याएर विजयी हुनुभएको छ।
मिराले १ सय ८१ मत प्राप्त गर्नुएभएको छ। त्यसै गरी कोषाध्यक्षमा सुरेश पासवानले जित हासिल गरेका छन्। पासवानले उनको प्रतिस्पर्धामा राजकुमार तिवारी थिए।बिहान ८ बजेबाट सुरु भएको मतदान १२ बजे सकिएको थियो।
मतगणना भने २ बजेपछि सुरु भै ७ बजे सम्म जारी थियो। मनोनित पद भने खाली नै रहेको छ। उपमहासचिव पदमा दुई जना सुरेश खड्का देबेन्द्रप्रसाद भट्टराईको बराबरी मत १ सय ९९ र १ सय ९९ सय भएको छ।
यसको टुंगो दुबैको सहमतिमा या गोला प्रथाबाट जे सहमत हुन्छ त्यसकै आधारमा सोमबार निर्वाचित टिमको सपथग्रहणकै समयमा गर्ने निधो भएको निर्वाचन आयुक्त भरतप्रसाद खरेलले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो।











प्रतिक्रिया