नेपाल समाचारपत्र, इलाम ।
महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा कृषि तथा पशु विज्ञान (बागवानी संकाय) को स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले आन्दोलन थालेका छन्। विद्यार्थीको मागको सुनुवाइ नभएको भन्दै क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई कार्यकक्षमै आइतबार तीन घण्टा थुनेका थिए।
दिउँसो १ बजेबाट कार्यकक्षमा थुनिएका क्याम्पस प्रमुख रामप्रसाद गुरागार्इं, सहायक क्याम्पस प्रमुख पूर्ण ढुंगाना र पुष्प ढुंगाना तीन घण्टापछि थुनामुक्त हुनुभएको छ।
बढेको शुल्क फिर्ता गर्ने र अन्य विषयमा माथिल्लो निकायमा लविङ गर्ने सहमतिपछि थुनामुक्त हुनुभएको हो।
विद्यार्थीहरुले प्रशासन र लेखा शाखामा भने अनिश्चतकालिन तालाबन्दी गरेका छन्। पटक–पटक आफ्ना समस्या समाधान गर्न माग गर्दा पनि क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै विद्यार्थीले तीनजनालाई कार्यकक्षमा थुनेका थिए।
उक्त संकायको तेस्रो वर्ष उर्तीणपश्चात कृषि तथा पशु विज्ञानमा स्नाकोत्तर तह पढन पाउनुपर्ने र लोक सेवाको परीक्षामा समावेश हुन पाउनुपर्ने अधिकारबाट क्याम्पसले वञ्चित गराएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन्।











प्रतिक्रिया