सुरेश तामाङ, काठमाडौं।
मेलम्चीको सुरुङमा काम गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेनाले करारमा लिएका २ सय ७५ जना मजदुरले अझै ज्याला पाएका छैनन्। तर सोही कम्पनीका ५ सय ५० जना मजदुरले भने ज्याला पाएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
मेलम्ची सुरुङमा काम गर्ने ८ सय २५ स्थानीय मजदुरको ८ करोड ७४ लाख रुपियाँ ज्याला रकम भुक्तानीको माग राख्दै पटकपटक आन्दोलन भएपछि प्रक्रिया पुगेका ५ सय ५० मजदुरको ज्याला दिइएको समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले पुष्टि गर्नुभयो।
मुख्य ठेकेदारले ८ सय २५ जना स्थानीय मजदुरको ८ करोड ७४ लाख रुपियाँ ज्याला रकम भुक्तानी माग राखे पनि काम गरेको प्रमाण पुगेका ५ सय ५० जनाको मात्र रकम भुक्तानी भएको इन्जिनियर पन्तले तर्क गर्नुभयो।
उक्त ठेकेदार कम्पनी सन् २०१८ को नोभेम्बर र डिसेम्बर दुई महिनाको ज्याला नदिई ठेक्काको सम्पूर्ण काम छोडी अन्तिम चरणमा भागेको थियो। रकम भुक्तानी पाइसकेपछि मजदुर सन्तुष्ट भएको दाबी गर्दै मेलम्चीको बाँकी काम बिनाअवरोध भइरहेको समितिको भनाइ छ।
सीएमसीले ठेक्का छोडे पनि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भई काम चलिरहेको समितिले जनाएको छ।सीएमसीद्वारा करारमा राखिएका मजदुर र स्थानीय भेण्डरले संघर्ष समिति बनाएर आन्दोलन गरेका थिए।
उक्त संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यले मेलम्चीले स्थानीय भेण्डरसहित मजदुरको भुक्तानीसमेत पाउनुपर्ने बताउँदै भन्नुभयो–‘मेलम्चीले मजदुरलाई ज्याला त दियो तर आधा जतिलाई मात्रै दिएको छ, बाँकीलाई प्रमाण नपुगेको भन्दै दिएको छैन। बाँकीले पनि पाउनुपर्छ।’
उहाँका अनुसार स्थानीय ठेकेदार भेण्डरको करिब ३५ करोड रकम भुक्तानी हुन बाँकी छ। समितिले बाँकीको प्रमाण पुग्ने आधारहरू ल्याउन सूचना जारी गर्दै तथ्यांक संकलनको काम भइरहेको जनाएको छ।
प्राप्त तथ्यांकको आधारमा बनेको प्रतिवेदनबाट कस्तो निर्णय लिने भन्नेमा सहयोग पुग्ने समितिले जनाएको छ। खानेपानी मन्त्रालयले यसअघि एक प्राविधिक समिति गठन गर्दै समस्या समाधानको बाटो अपनाएको थियो।











प्रतिक्रिया