काठमाडौं, (नेस)।
मंसिर १४ गते हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ।
केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित उक्त समितिमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल सदस्य र अधिवक्ता केशव रिजाल सदस्य–सचिव रहनुभएको छ।
उक्त समितिले निर्वाचन आचारसंहिता पालना र त्यसको प्रभावकारी कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने जनाइएको छ। उक्त समितिले उपनिर्वाचन हुने सबै जिल्लाका स्थानीय तहमा समेत अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गर्ने बताइएको छ।
उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समन्वय गर्ने उद्देश्यले समिति गठन गरिएको संयोजक लेखकले बताउनुभयो।
यसका साथै समिति पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरूलाई पार्टीका पक्षमा प्रचारप्रसार गर्ने, बढीभन्दा बढी मतदातालाई मतदान गर्न उत्प्रेरित गर्ने, स्वच्छ, स्वतन्त्र रूपले मतदान कार्य सम्पन्न गर्ने र मतगणनालगायतका कार्य व्यवस्थित गर्ने कार्यमा समेत क्रियाशील हुने संयोजक लेखकले बताउनुभयो।











प्रतिक्रिया