हिमाली क्षेत्रमा अवैध ‘ड्रोन’

0
Shares

अर्जुन कार्की, नाम्चे, सोलुखुम्बु।

विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर जाने मार्गमा गत शनिबार विदेशीहरूले विभिन्न क्षमताका ‘ड्रोन’ उडाएको देखियो।

लुक्ला र मोन्जोमा रहेका जाँच केन्द्रहरूमा ‘ड्रोन उडान निषेध’ भनेर सूचना टाँसिए पनि कर्मचारीहरूले सजगताका साथ छानबिन गरेको देखिएन।

नेपाल समाचारपत्रले चोला नदीको किनारस्थित चार हजार चार सय मिटरको उचाइमा रहेको फेरिचे गाउँमा तीनवटा ड्रोन उडाएको फोटोसहित चौकीका अधिकारीहरूलाई प्रतिक्रिया माग्दा ‘खै, झोला नै खोलेर हेर्न जनशक्ति छैन, सरकारले मेटल डिटेक्टर दिएको पनि होइन,सोध्दा छैन भन्छन्’ भन्ने जवाफ दिए।

‘हामी बुझ्छौं, ती कुन देशका नागरिक रहेछन्, उनीहरूको गाइड को रहेछ, पत्ता लगाएर कारबाही चलाउँछौं’ मोन्जो चौकीका प्रमुख जीवन पोख्रेलले नेपाल समाचारपत्रलाई बताउनुभयो। तर, बिहीबारसम्म पनि ड्रोन उडाएका सम्बन्धमा कसैलाई कारबाही गरिएको छैन।

नेपालमा ड्रोनको प्रयोग निषेधित छ। तथापि, अध्ययन अनुसन्धनका लागि भने नेपाल सरकार पर्यटन विभाग, गृह मन्त्रालय र नेपाल उड्डयन प्राधिकारणसँंगको अनुमतिपश्चात स्थानीय प्रहरी निकायको निगरानीमा ड्रोन प्रयोग गर्न सकिने प्रावधान छ।

तर, फेरिचेमा आमादब्लम हिमालको समानान्तर हुने गरी उडाइएको ड्रोनका सम्बन्धमा प्रहरी प्रशासनलाई कुनै जानकारी भएको पाइएन।

नाम्चे बजारस्थित होटेल व्यवसायी तथा उच्च हिमाली क्षेत्रका कामदारका रूपमा लामो समयसम्म अनुभव सँगालेका छिरिङ शेर्पा भन्नुहुन्छ– ‘ट्राभल एजेन्सीका गाइडहरूलाई तालिमको दौरान नै पर्यटकले के कुरा लान हुन्छ र के हुँदैन भन्ने सम्पूर्ण सिकाइन्छ, तर बीचबीचमा कर्मचारीले सोधखोज नगरेका कारण यसमा लापरबाही हुनेगरेको छ।’

‘यहाँ हेलिकोप्टर चलिरहन्छन्, ठोकिएर दुर्घटना हुनसक्छ, आम मानिसको आफ्नो गोपनीयताको अधिकार हनन हुन्छ, तसर्थ, हामी आफ्नै नियममा बसेर हाम्रा पहुनाहरूलाई पनि नियममा ल्याउनु आवश्यक छ’, छिरिङ भन्नुहुन्छ– ‘खुम्बु क्षेत्र प्रवेशका क्रममा चेक जाँच गर्ने चौकीहरूमा ब्रिफिक कक्ष बनाई झुण्ड–झुण्डमा पर्यटक र गाइडलाई यस्ता नियम र अनुशासनका सम्बन्धमा जानकारी किन नदिने? विदेशमा त विशेष स्थलमा प्रवेश गर्दा त्यसै गरिन्छ त ! ’

Skip This