खानीको अध्ययन हुन नसक्दा बहुमूल्य वस्तु अलपत्र

0
Shares

नेपाल समाचारपत्र, बैतडी।

बैतडीमा रहेका फलाम, फस्फोरस, युरेनियम, सुन, शिलाजित, चुनढुंगा, सिसा, स्लेटलगायतका खानीको अध्ययन हुन नसक्दा अलपत्र परेका छन्।

संघीय, प्रदेश र स्थानीय सरकारले अझै पनि यी महत्वपूर्ण खानीको सम्भाव्यता अध्ययनमा चासो दिएका छैनन्।

विज्ञहरूका अनुसार बैतडीको पुर्चाैडी नगरपालिकामा फलाम तथा फस्फोरस खानी रहेका छन्।
त्यस्तै, दोगडाकेदार गाउँपालिकामा चुनढुंगा र फस्फोरस तथा दशरथचन्द नगरपालिकाको ग्वाल्लेकमा सिसा र मौराभीरमा शिलाजित खानी रहेको विहरूले बताउँदै आएका छन्।

त्यस्तै, सिगास गाउपालिकामा खरीढुंगा र स्लेट खानी, डिलासैनी गाउँपालिकाको चमेलियामा युरेनियम र सुन तथा शिवनाथ गाउपालिका ढुंगा खानी रहेको बताइन्छ।

पुर्चाैडी नगरपालिकाको मल्लादेहीको कालीढुंगा क्षेत्रमा २० वर्षपहिले स्थानीयले उत्खनन गरेर फलाम निकालेका सयौं खाडल रहेका छन्।

खानी बन्द भएपछि फलाम उत्खनन गरेर विभिन्न औजार बनाउने चलनसमेत हराएको छ। खानीबाट उत्खनन गरेर निकालिएको फलामबाट बनेका पुर्चाैडे भदेला (कराई) अहिले पनि देख्न पाइन्छ।

चमेलिया नदीमा सुन र युरेनियम रहेको तत्कालीन जिल्ला विकास समिति बैतडीको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ।

विस्तृत खोज अनुसन्धानका लागि सरकारलाई आग्रह गरिएको भए पनि अहिलेसम्म अध्ययन हुन सकेको छैन।

पुर्चाैडीको मल्लादेहीमा फलाम निकाल्न प्रयोग भएका ४ सयबढी फलाम खानीका खाडल अहिले पनि देख्न सकिन्छ। २० मिटर जति गहिरो फलाम उत्खनन गरिएका खाडल अहिले घाँसले भरिएका छन्।

बैतडीको फलाम खानीका विषयमा अध्ययन गर्न तीन वर्षअघि खानी तथा भू–गर्भविद् सन्तोष ढकाल नेतृत्वको टोली बैतडीको मल्लादेही पुगेको थियो।

खानीको प्रारम्भिक अध्ययनपछि बैतडीमा फलाम खानीको राम्रो संभावना भएको अध्ययन टोलीको निश्कर्ष थियो।

दोगडाकेदार गाउँपालिका र पुर्चाैडीमा रहेको फस्फोरस खानीको प्रारम्भिक अध्ययन गर्न खानी तथा भू–गर्भ विभागका इन्जिनियर असिमबाबु श्रेष्ठ बैतडी पुगेका हुन्।

Skip This