लमजुङ मनाङ सडकमा सतर्कता अपनाउन प्रशासनको आग्रह

470
Shares

लमजुङ।

भारी वर्षाको सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय लमजुङले बेसीशहर चामे सडकखण्ड सहित जिल्लाका ग्रामीण सडकमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आइतबार (असोज ११) सम्म गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने प्रक्षेपण गरेपछि प्रशासनले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीमा जोड दिएको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सूचना जारी गर्दै स्थानीय तह तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

विशेषगरी बेसीशहर चामे सडकखण्डका विभिन्न ठाउँमा सामान्य वर्षामै पहिरो जाने भएकाले ठूलो वर्षा भएमा सडक अवरुद्ध हुने, बाढीपहिरो आउने तथा यातायात प्रभावित हुने जोखिम रहेको प्रशासनले जनाएको छ ।

प्रशासनले सम्भावित जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन सम्बन्धित निकायलाई आग्रह गर्दै वर्षाको समयमा अनावश्यक यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए सडकको अवस्था बुझेर मात्र आवतजावत गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।