अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसरी गर्नेछन् चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत


काठमाडौं ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ आज (बुधबार ) अमेरिकी राजधानी वासिङ्टन पुग्ने भएका छन्। उनको अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष स्वागत गर्ने तयारी गरिएको छ।

सीलाई स्वागत गर्न राष्ट्रपति ट्रम्प आफैं एन्ड्रयूज एयर फोर्स बेसमा पुग्न सक्ने बताइएको छ। बिहीबार ह्वाइट हाउसमा चिनियाँ राष्ट्रपतिको सम्मानमा औपचारिक स्वागत समारोह आयोजना गरिनेछ।

स्वागत समारोहमा सैन्य फ्लाईओभरका साथै करिब ५०० अमेरिकी सैन्य कर्मचारी सहभागी हुनेछन्। सीको शुक्रबारसम्म चल्ने अमेरिका भ्रमणका क्रममा औपचारिक स्वागत समारोहबाहेक भव्य रात्रिभोज, निजी भ्रमण तथा अन्य कार्यक्रमसमेत आयोजना हुनेछन्।

सीको यो भ्रमणलाई अमेरिका–चीन सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ। सन् २०२५ को अक्टोबरमा दक्षिण कोरियामा ट्रम्प र सीबीच भएको भेटवार्ताका क्रममा दुई देशबीच व्यापार सम्झौता भएको थियो। उक्त सम्झौताको अवधि नोभेम्बरमा समाप्त हुँदैछ।

सम्झौताअनुसार अमेरिकाले चिनियाँ सामानमा प्रस्ताव गरेको उल्लेखनीय कर वृद्धि तत्काल लागू नगर्ने निर्णय गरेको थियो। त्यसको बदलामा चीनले दुर्लभ खनिजको निर्यातमा लगाएका केही प्रतिबन्धहरू खुकुलो बनाएको थियो।

सीको यो भ्रमण करिब एक दशकपछि पहिलो अमेरिका भ्रमण हुनेछ। साथै, ट्रम्प अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालमा फर्किएपछि यी दुई नेताबीच हुन लागेको यो तेस्रो भेटवार्ता हुनेछ।