१८ बर्षदेखि फरार अभियुक्त पक्राऊ


पुष्कर बुढाथोकी, भक्तपुर । कर्तब्य ज्यान मुद्धाका एक फरार अभियुक्त १८ बर्ष पछि आज भक्तपुरबाट पक्राऊ परेका छन् । काठमाडौं महानगरपालिका ३४ महादेवस्थान बस्ने २० वर्षीय अशोक राईको हत्या गरी फरार भएका भक्तपुर नगरपालिका२ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका३ घर भएका ३८ वर्षीय भिमसेन भण्डारीलाई भक्तपुर नगरपालिका २ स्थित बसपार्कबाट आज प्रहरीले पक्राउ गरेको हो ।
गत २०५८ साउन ७ गते काठमाडौं महानगरपालिका३४ महादेबस्थान टोलमा निर्माणाधिन घरको सामानहरु कुर्न बसेका राईलाई मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका भण्डारीलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले पक्राउ गरेको हो ।

काठमाडौं बानेश्वरस्थित भट्टी पसलमा वादविवाद भएपछि राईले गालामा थप्पड हानेको विषयलाई लिएर भण्डारीले उनी बस्ने ठाँउमा एक्लै गई धारिलो हतियार प्रहार गरी हत्या गरेको र सो पश्चात लुकिछिपी भक्तपुर जिल्लामा अस्थाई सहचालकको रुपमा बिभिन्न गाडीहरुमा काम गरेको खुल्न आएको प्रहरीले जनाएको छ । भण्डारीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको ब्यूरोले जनाएको छ ।