सीमा क्षेत्रको म्यार्दी भीरमा पहिरोले दुई जिल्लाको आवागमन ठप्प



नेपाल समाचारपत्र, लमजुङ ।
हिमाल पारीको जिल्ला मनाङ र लमजुङ सिमाना म्यार्दी खोलाको मनाङतर्फ पहिरो जाँदा दुई जिल्लाबीचको आवागमन ठप्प भएको छ । बाटोसमेत बगाएपछि स्थानीयले पैदलसमेत हिँड्न सकेका छैनन् ।

मनाङतर्फको भागबाट ठूलो पहिरो झरेपछि सवारी साधन ठप्प भएको नासों गाउँपालिका– १ का अध्यक्ष झलक गुरुङले बताउनु भयो । उहाँका अनुसार बिहीबार राती आएको ठूलो पहिरोले सवारी आवागमन हुन सकेको हो । म्यादी खोलामा गत बर्ष साउनमा बनाएको बेलिब्रिज गएको असारमा बगाएपछि बनाइएको काठको फड्केको बाटो भएर समेत हिँड्न कठिन भएको गुरुङको भनाई छ ।

नासों गाउँपालिका अध्यक्ष चन्द्रबहादुर घलेले खोलामा फड्केमाथि हिँडे पनि पहिरोमा हिँड्न बाटो नै नभएका कारण कठिन भएको बताउनुभयो । उहाँका अनुसार तत्काल पुनः निर्माणको काम गर्नका लागि पनि पानी परिरहेको र पहिलो समेत चलिरहेको कारणले कठिन भएको छ ।

बेलिब्रिज बगाएपछि अस्थायी काठे पुल बनाएर काम चलाएकोमा खोलामा आएको बाढीले उक्त पुल समेत बगाउने जोखिम बढेको घलेले बताउनुभयो । उहाँका अनुसार पहिरो गएको ठाउँमा ठूला ठूला ढुंगा थुप्रिएको र ढुंगा फुटाउन ब्रेकर प्रयोग गर्नुपर्ने भएको छ । मेशीन प्रयोग गरेमा झनै पहिरो बढ्न सक्ने भएको हुनाले तत्काल कुनै निर्णय लिन सक्ने स्थिति नरहेको उहाँले बताउनुभयो ।

सडक डिभिजन कार्यालयलाई खोलामा बेलिब्रिज बनाउन ताकेता गर्दा पनि काम सुरु नगरेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, ‘स्थानीय गाउँलेका साथै मनाङ आउने कर्मचारीहरू तथा पर्यटकहरूलाई सास्ती समेत भएको छ, तरपनि सडक डिभिजनले ध्यान दिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्