स्वर्ण र कीर्तिमानधारी खेलाडी पुरस्कृत



काठमाडौं, (नेस) ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र राष्ट्रिय कीर्तिमान बनाएका खेलाडीलाई मंगलबार नगद पुरस्कार प्रदान गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेका जम्मा ६ सय ९६ खेलाडीलाई नगद पुरस्कार वितरण गरियो । व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई जनही १५ हजार तथा टिममा स्वर्ण हात पार्नेलाई जनही ७ हजार नगद पुरस्कार दिइएको थियो ।

विभिन्न ४ खेलमा राष्ट्रिय कीर्तिमान बनाउन सफल १६ खेलाडीलाई २६ कीर्तिमानका लागि प्रत्येक कीर्तिमानको २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । स्वर्ण र कीर्तिमानका लागि जम्मा ७७ लाख वितरण गरिएको थियो । एथलेटिक्समा चन्द्रकला लामगाडेले २, कृष्णा चौधरी, तुलसा खत्री, संगीता मेचे र सरस्वती भट्टराईले (रिले) तथा सन्तोषी श्रेष्ठले समान १–१ कीर्तिमान बनाएका थिए ।

पौडीमा गौरिका सिंहले ६, तेन्जिङ नोर्गे गुरुङले २, शुभम् श्रेष्ठले २, शायद हम्जा शाहले ३, एलेक्जेन्डर शाहले २, अनुभव सुब्बाले २ र नाथेन दोर्जे शेर्पाले २ कीर्तिमान रचेका थिए । त्यस्तै सुटिङकी सुस्मिता नेपाल तथा गोल्फका टंकबहादुर कार्की र शुक्रबहादुर राईले समान १–१ कीर्तिमान बनाएका थिए ।

अन्तर्राष्ट्रिय पदक विजेता पुरस्कृत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक वर्ष २०७५÷७६ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई मंगलबार प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा ३४५ स्वर्ण, २५ रजत र ९२ कांस्य गरी कुल ४ सय ६२ पदकधारीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरियो । जम्मा २३ लाख ७८ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्