सच्चिन नसकेको गलत परिपाटी



दामोदर पौडेल

हामीलाई जहिले पनि असल हुने र राम्रो गर्ने अवसर छ । कुनै काम गर्न ढिलो होला तर जुन दिन थालनी गरिन्छ, त्यस दिनबाटै राम्रो कामले राम्रो परिणाम दिन थाल्छ । अब राम्रो कार्यको थालनी गर्ने कि ? जहिले पनि गल्ती गरेर र सहेर नै हामीले सुखी र खुशी समाज बनाउन सक्छौं त ? विद्यालय जाँदै गरेको एक बच्चा अपहरण हुन्छ र फिरौतीको माग आउँछ । अपहरण गर्नेले त्यसबाट प्राप्त पैसाले आफ्ना बच्चा पढाउने लक्ष्य लिन्छ । अर्कोतर्फ अरुका बच्चा पालेर पढाउनेहरु पनि यो समाजमा छन् । यो विपरीत अवस्था र सोचको विकास किन र कसरी भयो ? के यसको उपचार छ ? वास्तवमा यसका दोषी राज्य सञ्चालक नै हुन्छन् ।

एकजना प्रहरीको तालिम खर्च, खाना, कपडा आदि र पेन्सन पाउने समेत उसको लागि भएको खर्चको हिसाब गर्दा महिनाको १ लाख रुपियाँ राज्यबाट खर्च गरेको देखिन्छ । ऊजस्ता करिब ६ जना प्रहरी विदेशसँग सिमाना जोडिएका क्षेत्रमा चोरी आयात र निकासी रोक्न बसेका हुन्छन् । उनीहरुको क्षेत्र करिब ३० किलोमिटरको दूरी हुन्छ । ठूला अपराधको सम्बन्धमा उनीहरुलाई थाहै हुन्छ कि त्यसमा प्रहरीका हाकिमसमेतको मिलजुल सञ्जाल भएको हुन्छ । जुन कार्यमा मिलजुल भएर कमिसनको कुरा मिल्ने अवस्था आउँदैन त्यसमा मात्र माथिको आदेशले उनीहरुले कालाबजारी र भन्सार छल्ने गरेका ठूलाहरुलाई पक्रन्छन् । तर साना पोके व्यापारीहरु भने करिब एउटा पनि छुट्दैनन् ।

प्रायः कपडा, मसला आदिको भन्सार छली गर्ने ती पोके व्यापारीको पनि फरक हैसियत छ । अलिक ठूला पोका हुनेहरुले कमै घूस दिए पनि हुन्छ । किनभने उनीहरु नियमित हुन्छन्, नियमित पैसा दिन्छन् र केही अन्य प्रहरीलाई पनि चिनेका हुन्छन् । शायद कतिको अलग सम्बन्ध पनि हुन्छ भनिन्छ । जो नयाँ छन्, उनीहरुको कुनै खैरियत छैन । उनीहरुलाई प्रहरीले पेल्छ । राम्रोसँग घूस लिन्छ । उसको लगानीमा दिनको ५ सयभन्दा बढी नाफा नहुने गरेर नै प्रहरीले घूस लिन सक्छ । सम्भवतः त्यस अवस्थामा दिनको करिब ६ जना प्रहरीले भन्सार नतिरी ल्याएको सामानको लाख रुपियाँ बराबरको घूस लिन्छन् । विचरा सामान ल्याउनेहरुमध्ये तल्लो तहकाहरुको मुस्किलले ५ सय बच्छ । अर्थात् महिनामा १५ हजार । यसमा प्रस्न उठ्छ– त्यो कार्य रोक्न प्रहरीको व्यवस्था राम्रो कि अर्को विकल्प राम्रो ? सम्भवतः प्रहरी बन्न नपाएको भए अहिले प्रहरी भएर त्यहाँ खटिएको व्यक्ति पनि त्यही कार्य गरिरहेको हुन्थ्यो ।

एउटा प्रहरीको लागि तलब र घूस गरेर करिब ३ लाख रुपियाँ जान्छ । अर्को उपाय नभएकोेले त्यसरी नै जान दिने कि ? ती विकल्प नभएर समान्य र हातमुख जोड्नको लागि अपराध गर्नेहरुलाई त्यो ३ लाख राज्यले खर्च गरेर २० जनालाई स्वरोजगारको काम दिई अपराधी हुनबाट बचाउने भन्ने सवाल प्रमुख छ । केही बाध्यताका अपराधीहरु छन् । जसले गर्दा देश, समाज र व्यक्तिलाई घाटा भएको छ तर विकल्पहरु छन् । प्रहरी बढाउने होइन बरु स्वरोजगार बढाऔं । अपराध घट्छ, जनतामा सुख आउँछ । यस्ता धेरै उदाहरणहरु अन्य क्षेत्रमा पनि छन् ।

विद्यालय जाँदै गरेको एक बच्चा अपहरण हुन्छ र फिरौतीको माग आउँछ । अपहरण गर्नेले त्यसबाट प्राप्त पैसाले आफ्ना बच्चा पढाउने लक्ष्य लिन्छ । अर्कोतर्फ अरुका बच्चा पालेर पढाउनेहरु पनि यो समाजमा छन् । यो विपरीत अवस्था र सोचको विकास किन र कसरी भयो ? के यसको उपचार छ ? वास्तवमा यसका दोषी राज्य सञ्चालक नै हुन्छन् ।

हामीले समाजलाई परिश्रमी, उद्यमी र सकारात्मक सोचको बनाउनु पर्ने थियो । तर समाज भने दुःख नगरी खान पाउनुपर्ने मानसिकतामा गयो वा लगियो । केन्द्रमा नै शक्ति केन्द्रित गर्नु पनि यसको कारण हो । सुविधा केन्द्रित हुनु पनि अर्को पाटो हो । काठमडौंका नदीकिनारमा सुकुम्बासी बस्ती छन् । त्यहाँ रहने सुकुम्बासीहरु सुविधा माग गरिरहेका छन् । बसेको जग्गा आफ्नो बन्नुपर्ने भनिरहेका छन् । तर अन्यत्र उब्जाउ जमिन बाँझा भएका छन् । सुनिन्छ कि सरकारले अझै जग्गा वितरण गर्ने गरेर भूमि सुधार कार्यक्रम ल्याउँदै छ ।

मानिसले राख्न पाउने जग्गाको हदबन्दी घटाउँदै छ । यसले के देखाउँछ भने नागरिकभन्दा नेताहरुको चेतनास्तर फरक छ । केही अपवादबाहेक मुख्य क्षेत्रबाहेकका जग्गा सरकारले कसैलाई खेती गर्न दिएमा पनि र ती जग्गा खेतीयोग्य भए पनि उपयोगका लागि लिने कोही छैनन् । कारण हो बढी सुविधा र कम परिश्रमको चाहना । ठूला शहरमा केन्द्रित नागरिकमा यस्तो समस्या छ ।
त्यसै कारणले जनसंख्या केन्द्रीकृत भयो । विकेन्द्रीकरणको प्रयास नै भएन ।

मैले प्रस्टै भनेको थिएँ कि मेलम्ची खानेपानी योजनाको अति आवश्यकता छैन र फास्ट ट्रयाक चाहिँदै चाहिँदैन । यदि देशका सातवटा प्रान्तीय क्षेत्रमा नै राष्ट्रस्तरीय शिक्षा, स्वास्थ्य, पानी र राज्यले दिने सेवाजस्ता विषयलाई विकेन्द्रीकृत गरिने हो भने मानिसहरु काठमाडौंमा धूलो, धुवाँ र प्रदूषण सहेर बस्दैनन् । काठमाडौंमा बाहिरबाट प्रवेश गर्नेको संख्या रोकिने हो र सुविधा अन्यत्र हुने हो भने यहाँको जनसंख्या पनि बाहिरिन्छ । त्यसमा ध्यान दिएको भए काठमाडौं उपत्यकाको जनसंख्या नै २० लाखभन्दा धेरै कम हुने थियो । त्यसबाट अहिलेको पानी र सडक नै पर्याप्त हुने थियो ।

काठमाडौंलाई सांस्कृतिक र पर्यटनको शहरसमेत बनाउन चाहने र सक्ने हो भने, काठमाडौंबाट राजधानी हेटौंडामा वा चितवनतिर सार्ने हो भने पनि देशका लगभग ९० प्रतिशत जनतालाई सुविधा हुन जान्छ । अर्थात् काठमाडौंका मानिसहरु पनि बाहिरिन्छन् । यातायात खर्च, पेट्रोलको खर्च कम हुनुका साथै दुर्घटना पनि कम हुन्छन् । त्यसै पनि देशको विदेशिने पैसा खर्बमा बच्छ । त्यो भन्दा राम्रो त काठमाडौं सफा, हराभरा, प्रदूषणरहित हुन्छ ।

यो शहर पर्यटनको लागि सम्भवतः विश्वका सबैभन्दा ठूला हबहरुमा पर्दछ । विश्वभरका करिब १ अर्ब हिन्दूहरु र करिब १ अर्ब बुद्धिस्टहरुले बागमती, विष्णुमतीमा नुहाएर पनि मोक्षप्राप्ति वा आनन्दको अनुभव गर्न सक्छन् । अरु पर्यटकहरुले परम्परा र सफा सुन्दर काठमाडौं देखेर आनन्द लिनेछन् । नेपालमा नै पर्यटनको राम्रो विकास हुनेछ । कास्मिर तथा काबुलभन्दा काठमाडौं कुनै पनि हालतमा कम सुन्दर छैन । कास्मिर र काबुल मुसल्मान आतंकको छायामा पर्न भन्दा पहिला पृथ्वीका स्वर्ग कहलाउँथे । यसरी हामीले उचित ठाउँको उचित प्रयोगको लागि समुचित प्रयास नै कहिल्यै गरेनौं ।

अबको प्रयास अलि कठिन हुन्छ । बाहिर जे भने पनि करोडौंदेखि अर्बौं कमाउनेहरुले सम्पत्ति काठमाडौंमा थुपारेका छन् । राजधानी सरेमा उनीहरुको सम्पत्ति कौडी हुने डर छ । किन जोखिम लिने ? बरु विभिन्न तर्क दिएर काठमाडौंलाई नै राजधानी बनाउने चेतना नै अहिलेका ठूलाहरुमा छ ।

व्यक्तिगतरुपमा भन्दा मेरो पनि सम्पत्ति धेरै काठमाडौंमा नै छ तर देश र जनताको लागि मेरो स्वार्थ केही पनि हैन भन्ने म सोच्न सक्छु । के ठूलाहरुले त्यति जोखिम लिन सक्छन् ? के काठमाडौंका पुराना बासिन्दाहरु संस्कृतिको रक्षा, स्वास्थ्य तथा पर्यटनको वास्तविक सम्भावनाको लागि राजधानी सार्न तयार हुन्छन् ? तर सत्य हो कि राजधानी काठमाडौंबाट सरेमा केही समयमा नै काठमाडौं सबैभन्दा बढी आम्दानी गर्ने बासिन्दाहरुको शहरमध्येमा पर्ने सांस्कृतिक र पर्यटकीय केन्द्र बन्नेछ । त्यसको लागि केही तत्परता भने चाहिन्छ ।

हामीलाई इमानदारिता पनि चाहिएको छ । माथिबाट इमानदारी देखाइएमा र न्यूनतम आधारभूत आवश्यकताको परिपूर्ति भएमा जनतामा पनि अधिकतम इमानदारी हुनेछ । तर भोको पेटमा इमानदारीको कल्पना नगरौं । हाम्रो लागि यो पनि शिक्षा बन्न सक्छ, हुवाबे टेलिकम कम्पनीका साइबर सुरक्षा प्रमुख जोन साफिकले भनेका थिए– ‘हामी संसारका आगाडि नाङ्गै उभिएका छौं ।’ हामीले पनि उनले भनेजस्तो भन्न हिचकिचाउनुहुँदैन । किनभने त्यसले हामीलाई उत्पादनमा सुधार गर्न सघाउँछ । उत्पादनमा त्रुटि भए आफूलाई लज्जाबोध नभई सुधार गर्न सहयोग पुग्छ । त्यसैले सत्य सामु ल्याउन समाजका ठूला भन्नेहरु नै तयार हुने वतावरण हुनुपर्छ । गल्ती सुधार नभए त भन्सारमा प्रहरी थपे जस्तो मात्र हो ।

 

प्रतिक्रिया दिनुहोस्