न्युज अफ नेपाल, काठमाडौं ।
देशभर ३ दिनसम्म भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै ३ दिन मुलुकभर मनसुन सक्रिय रहने छ ।
वर्षाका कारण साना खोलामा नदीको वहाब बढी सामान्य बाढीको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले न्युजअफ नेपाललाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ अहिले मनुसनको गतिविधि अलिक तीव्र छ । त्यसैले सानातिना नदीहरुमा आकस्मिक बाढीको सम्भावना पनि छ ।’
कँडेलका अनुसार शनिबारबाटै देशका धेरैजसो ठाउँमा पानी परेपनि आइतबारबाट सो क्रम अझै बढ्नेछ । विभागका अनुसार आइतबार दिउँसो मध्य र पश्चिमी क्षेत्रको पहाडी भू–भागमा भारी वर्षा हुने सम्भावना छ ।
त्यस्तै आइतबार राति पूर्वका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । यो क्रम कम्तिमा तीन दिन रहने बताइएको छ ।
यसैबीच मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका पश्चिमी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले पश्चिम नेपालका डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म वहाब उच्च हुने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।
महाशाखाले १ हप्ता सम्म देशभरका प्राय नदीमा वहाब बढ्दो क्रममा रहने र त्यसपछि नदीमा वहाब उच्च हुने पूर्वानुमान गर्दै तटिय क्षेत्रमा रहेका कृषि उपज सम्भव भएसम्म चाँडो थन्क्याउन अनुरोध गरेको छ ।
आइतबारदेखि मङ्गलबारसम्म ठूला र मझौला नदीमा बाढीको जोखिम न्यून रहेको बताएको छ ।











प्रतिक्रिया