टीका बन्धन, काठमाडौं
सीमा नाकामा विषादी परीक्षण गरेर मात्रै आयात गर्ने अडान लिएको दुईसाता भित्रैमा सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । चर्को भारतीय दबाबपछि विषादी परीक्षण नगरी फलफूल र तरकारी आयात शुरु भएको छ ।
सरकारले गत असार दुई गते राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याएको थियो । तरकारी र फलफूलको आयात प्रभावितबारे चासो लिएको भारतीय दूतावासले सरकारलाई लिखित पत्र पठाएपछि मन्त्री परिषद्ले निर्णय फिर्ता लिएको हो ।
नेपालको परिवर्तित नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको जनाउँदै दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबारको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको कृषि मन्त्रालय स्रोतले जनाएको छ । तर सरकारले भने विषादी परीक्षणका लागि आवश्यक ल्याब, उपकरण र अन्य तयारी पर्याप्त नभएको कारण देखाउँदै तत्कालका लागि परीक्षणकार्य स्थगित गरिएको जनाएको छ ।
जनस्वास्थ्यसँग जोडिएको विषयबारे सरकार गम्भीर नभएको र आफ्नो निर्णयबाट पछि हटेकोमा सत्तारुढ दल नेकपाको नेतृत्व नै असन्तुष्ट बनेको छ । सरकार जनताको स्वास्थ्यप्रति सचेत र गम्भीर नभएको बताउँदै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको भनाइ छ । ‘सरकारले खाद्यान्न, तरकारी र फलफूलमा विषादी नभएको विश्वास दिलाउनुपर्छ, कर्मचारी र उपकरण अभाव देखाउँदै जनतालाई विषादीयुक्त खाद्यान्न उपभोग गर्न बाध्य पारिनु हुँदैन’ –शनिबारको नेकपा संसदीय दलको बैठकपश्चात उहाँले सञ्चारकर्मीसँग भन्नुभयो ।
कसैका दवाब सामु झुक्न नहुने बताउँदै नेता नेपालले विषादी परीक्षण नगर्ने निर्णयमा पुनः विचार गर्न आग्रह गर्नुभयो । नेकपाका अर्का नेता भीम रावलले मन्त्रीपरिषद्को निर्णयप्रति आश्चर्य व्यक्त गर्दै कसैको आग्रहमा जनताको हितप्रतिकूलको निर्णय गर्नुलाई स्वभाविक मान्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘एउटा स्वतन्त्र र सार्वभौम देशले सिमानामा तरकारी र फलफूल जाँच्न नपाउने अनि जाँच्न खोज्दा कसैले पत्र पठायो भन्दैमा तुरुन्त निर्णय फिर्ता लिनु सरकारका लागि सुहाउने कुरा होइन ।’
विवेकशिल नेपाली पार्टीले निर्णय तत्काल फिर्ता लिदै परीक्षण शुरु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सरकार नागरिकमुखी हुनुको बदला करोडौ नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको सो दलको ठहर छ । ‘विषादी परीक्षण रोक्ने प्रस्ताव प्रधानमन्त्रीबाटै आउनु निकै गैरजिम्मेवार र नागरिकको स्वास्थ्यमाथि अनुदार कदम हो, सरकार तिमी कहिलेसम्म हो हदसम्म विवेकहिनताको बन्दी बनिरहन्छौ’ –सो पार्टीद्धारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।
यता कृषि मन्त्रालयका अधिकारीहरु भने विगतदेखि विनारोकतोक एक अर्को मुलुकमा समान ओसार पसार हुँदै आएकोबारे भारतीय चासो रहेको हुन सक्ने बताउँछन् । विगतमा पनि फलफूल, खाद्यान्न र तरकारी भारतबाट आयात हुँदै आएकाले विषादी मिश्रित सामग्री अहिले धमाधम भित्रियो भन्ने बुझाई गलत भएको उनीहरुको तर्क छ । सो मन्त्रालयका पूर्वसचिव सुरोज पोखरेल भने उत्पादनस्थलदेखि, भन्सार र बजारमा समेत विषादीको नियमित परीक्षण र अनुगमन हुनुपर्नेमा जोड दिनुहुन्छ ।
नेपाल सबै उपभोग्यवस्तुमा आत्मनिर्भर नभएको अवस्थामा कृषि र अन्य वस्तुको गुणस्तर कायम गर्न द्विपक्षीय कूटनीतिक पहल आवश्यक भएको उहाँको भनाई छ ।
‘अन्य मुलुकहुँदै भारतीय बजार पुग्ने उत्पादनको गुणस्तर कमसल हुँदा नेपालको उत्पादन हो भन्ने भ्रम छर्ने गरिन्छ, पोखरेल भन्नुहुन्छ–‘भारतबाट आयात गर्ने खाद्यान्न मात्रै होइन, नेपालको उत्पादन भारत निर्यात हुँदा हुने अवरोध पनि अन्त्य हुनुपर्छ ।’
काँग्रेसको आपत्ति
भारत हुँदै नेपाल आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण स्थगित गरेकोबारे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ ।
सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी भएको जनाउँदै सो दलले विषादीयुक्त तरकारी–फलफूल प्रवेशमा कडा परीक्षण र नियन्त्रण गर्न सरकारलाई सचेत गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्धारा विज्ञप्तीमा भनिएको छ–‘विषादीयुक्त खाद्य पदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई विर्सिएर सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी हो ।’
विज्ञप्तीमा भनिएको छ–‘ काठमाडौँको प्रदुषणको प्राविधिक मापनको ज्ञान वेगर एकातर्फ मास्क नलगाई हिड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परिक्षण वेगर अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद छ ।’











प्रतिक्रिया