ईश्वरराज ढकाल, काठमाडौं । पुरातत्व विभागले नारायणहिटी दरबार संग्रहालय परिसरको गुरुयोजना निर्माण गरेको छ । नारायणहिटी दरबारलाई उत्कृष्ट संग्रहालयको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेको हो ।
गुरुयोजनामा संग्रहालयको सबै विषय अध्ययन गरी सो प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सुझाव दिने भएको छ । गुरुयोजनामा ऐतिहासिक संरचनाको संरक्षण, हाल खुला रहेको कक्षको व्यवस्थापन, खुलाचौरको व्यवस्थापन, राजा त्रिभुवनदेखि वीरेन्द्र, एश्वर्य, दीपेन्द्र, श्रृति निराजनले चढ्ने सवारी साधनलाई प्रदर्शनीमा राख्ने, सम्पूर्ण प्रक्रिया पूरा भएतापनि हालसम खुल्न नसकेको राजा वीरेन्द्रको निजी निवास श्रीसदनलाई खुलागर्ने, हाल परराष्ट्र मन्त्रालयले सञ्चालन गर्दै आएको नारायणहिटी संग्रहालयको भीसा सेन्टरलाई व्यवस्थापन गर्ने लगायतका विषय समेटिएका छन् ।
खण्डहर भएको रणोद्दीपको दरबार, घोडा तबेला, झिल पोखरी, खेत, फरासखाना, चौर लगायत महत्वपुर्ण संरचनालाई व्यवस्थापन गर्न समितिले दिएको सुझाव गुरुयोजनामा समेटिएको छ । पुरातत्व विभागका प्रवक्ता एवं प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले गुरुयोजना तयार गर्ने बनेको समितिले दिएको सुझावको आधारमा संग्रहालयको थप विस्तार र विकास गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– केही दिनपछि प्रतिवेदन आउँछ, सोहीअनुसार संग्रहालयलाई थप व्यवस्थित बनाउनेछौं । ७ सय ५४ रोपनी क्षेत्रफल ओगटेको संग्रहालयलाई नमुना संग्रहालयको रुपमा विकास गर्न गुरुयोजना बनाइएको प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।
विभागले एरेना डेभलपमेन्ट कन्सल्ट प्रालिलाई गुरुयोजना निर्माण गर्ने जिम्मा दिएको हो । समितिले संग्रहालय परिसरमा बस्दै आएको नेपाली सेना र संग्रहालयको सिमानाको विषयमा अध्ययन गरेको छैन । गुरुयोजना तयार गर्न बनेको समितिका सदस्य नारायण बोहराले– संग्रहालयलाई कसरी थप व्यवस्थित बनाउने भन्ने विषयमा समितिले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
२०६५ फागुन १५ देखि संग्रहालयका रुपमा सर्वसाधारणका निम्ति खुला गरेपछि संग्रहालयको गुरुयोजना तयार भएको छैन ।
विसं २०२६ मा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कले निर्माण गरेको नक्साअनुसार नारायणहिटी दरबार निर्माण गरिएको थियो । हाल सो दरबारको ३१ कक्ष, श्रीपेच, राजदण्डलगायत महत्वपूर्ण सामग्री प्रदर्शनीमा राखिएको छ । संग्रहालय, त्रिभुवन सदन, फोहोरा बगैचा, श्रीसदनबाहेक अन्य स्थल जीर्ण बन्दै गएको छ ।
तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा गरेअनुसार फागुन १५ देखि संग्रहालय सर्वसाधारणका निम्ति खुला गरिएको थियो ।
संग्रहालय प्रमुखको आपत्ति
नारायणहिटी संग्रहालय प्रमुख अद्वैत प्रकाश श्रेष्ठले गुरुयोजना निर्माण गर्ने टोलीले संग्रहालय प्रशासनसंँग कुनैपनि विषयमा सोधखोज नगरेको बताउनुभएको छ । ‘हामीलाई पत्तै छैन, समिति बनाउँदा त हाम्रो प्रतिनिधि चाहिन्छ होला नि ?
समितिले हाम्रो प्रतिनिधि नराखी प्रतिवेदन निर्माण गरेकोमा हामी असन्तुष्ट छौं’ श्रेष्ठले भन्नुभयो–जसको मातहतमा संग्रहालय सञ्चालन भैरहेको छ, उसलाई जानकारी नै नदिई बनाएको प्रतिवेदनको औचित्यमाथि प्रश्न उठ्नुपर्छ ।
यसअघि संस्कृति मन्त्रालयले गुरुयोजना अघि संग्रहालयको बारेमा अध्ययन गर्न तयार गरेको गरेको समितिमा संग्रहालयका प्रमुख लाई सदस्यसचिव तोकेको थियो ।











प्रतिक्रिया