बाबुले आमा मारेपछि टुहुरा बनेका बालबालिकालाई नगरपालिकाले पढाउने



विमल विष्ट, डोटी ।
बुबाले आमाको हत्या गरेपछि टुहुरा बनेका जिल्लाको दिपायल सिलगढी नगरपालिका वडानं. ३ दिपायलका पाँच जना टुहुँरा बालबालिकाको पठनपाठनको जिम्मा दिपायल सिलगढी नगरपालिकाले लिएको छ ।

यही असार २ गते राति घरायसी विवादलाई लिएर ४५ वर्षीय श्रीमान कृष्ण नेपालीले आफ्नै श्रीमती ४० वर्षीया मीना नेपालीलाई लुगा काट्ने कैंची प्रहार गरी विभत्स हत्या गरेका थिए ।

आमाको हत्या अभियोगमा बुबा पनि जेल जाने भएपछि उहाँका छोराछोरी टुहुरा बनेका हुन् । कृष्णका ५ छोराछोरीमध्ये जेठो छोरी सृजना कक्षा ११ मा पढ्दैछन् । २० वर्षीया सृजनालाई तत्काल कुनै रोजगारीमा लगाउने दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सृजनालाइ पढाई अनुसारको रोजगारी दिन्छौँ र टुहुँरा बनेका उनका भाई बहिनीलाई नगरपालिकाले पढाउने जिम्मा लिएको छ ।” त्यस्तै १६ वर्षका छोरा अंकित कक्षा ८ मा पढ्दैछन् ।

उनले आमाको क्रिया गरिरहेका छन् ।
त्यसैगरी १२ वर्षीया छोरी सन्ध्या कक्षा ४ मा र ८ वर्षीया छोरी सोनीया कक्षा २ मा पढ्दैछन् भने कान्छो छोरा विनायक एलकेजी मा पढिरहेको वडानं. ३ का वडा अध्यक्ष चक्रबहादुर माझीले जानकारी दिनुभयो ।

विपन्न दलित परिवारमा जन्मिएका ती बालबालिका विचल्लीमा परेपछि स्थानीय सरकारको अनुभूति दिलाउने गरी उनिहरुलाई पठन पाठनको जिम्मा नगरपालिकाले लिएको नगर प्रमुख मलासीले बताउनुभयो ।

टुहुरा बनेका ति बालबालिकाहरुलाई आवासीय विद्यालयमा पठनपाठनको व्यवस्थाका लागि नगरपालिकाले जिम्मा लिएको हो । यसका साथै क्रिया खर्चका लागि पनि नगरपालिकाबाट आर्थिक सहयोग पनि प्रदान गरेएको छ ।

कैंची प्रहार गरी श्रीमतीको हत्या गर्ने कृष्णका बारेमा विस्तृत अनुसन्धान भै थप अनुसन्धान रिपोर्टसहित अदालतमा पेश गरी म्याद थप गरिएकोे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्