महाकाली नगरपालिका नासुको भरमा, आर्थिक अख्तीयारीमा समेत नासुकै कमाण्ड



किरन धामी, दार्चुला ।
दार्चुला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाको आर्थिक अख्तीयारी राजपत्र अनङ्कीत प्रथम श्रेणीका नायब सुब्बालाई दिइएको छ ।

नगरपालिकामा कार्यरत नायब सुब्बा विरेन्द्र सिह धामीलाई नगरपालिकाका कामकाज हेर्ने गरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट असार ५ गते अख्तीयारी प्राप्त भएको हो । अख्तीयारी प्राप्त नायब सुब्बा धामी साविकको अपि नगरपालिकाका निमित्त कार्यकारी अधिकृत थिए ।

नगरपालिकाको कामकाज हेरीरहेका जिल्ला समन्वय समिति दार्चुलाका समन्वय अधिकारी कमलबहादुर थापाको सरुवा भएपछि सुब्बा धामीलाई मन्त्रालयले अख्तीयारी दिएको हो ।

नगरपालिकामा १० आँै तहको उपसचिवको दरबन्दि भए पनि मन्त्रालयले दरबन्दी अनुसारका कर्मचारी खटाउन सकेको छैन् । मन्त्रालयले नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नपठाएका कारण नायब सुब्बालाई नगरपालिकाको जिम्मेबारी दिइएको नगर प्रमुख हंसराज भट्टले जानकारी दिनुभयो । आर्थिक वर्ष सकिनै लाग्दा मन्त्रालयले हाकिमको सरुवा गरे पछि नगरपालिकाका सबै काम काज ठप्प भएका थिए ।

नायब सुब्बालाई आर्थिक संगै सबै अख्तीयारी आए संगै अब नगरपालिकामा रोकिएका कामहरु भने सुचारु हुने भएका छन् । योजनाहरुको अनुगमन, भुक्तानी, कर्मचारीको तलब, अगामी वर्षका लागी बजेटको तयारी लगायतका कामहरु सुचारु हुने नगरपालिकाले जनाएको छ ।

यस्तै नगरपालिकामा लेखा अधिकृत, लेखापाल र सहलेखापालको दरबन्दी भए पनि एक जना पनि छैनन् । नगरपालिकाका लेखा अधिकृत यज्ञराज लेखक प्रदेशमा समायोजन भएर सरुवा भए पछि अहिले कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट लेखा हेर्नेगरी दिपक भट्टलाई नगरपालिकाको जिम्मेवारी दिइएको छ । नायब सुब्बा धामीलाई चालु आर्थिक वर्ष सम्मका लागी मात्रै नगरपालिकाको जिम्मेबारी दिइएको हो ।

१५ किलोग्राम यार्सागुम्बा संकलनका लागी संकलन पुर्जी

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाबाट हाल सम्म १५ किलोग्राम यार्सागुम्बा संकलनका लागी संकलन पुर्जी लगेको कार्यालय निमित्त संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो ।

दार्चुलाका व्यापारी जसमल बोहरा, धन सिंह जागरी र शोभान सिंह ठगुन्नाले ५/५ किलोग्राम यार्सागुम्बा संकलनका लागी संकलन पुर्जी लिएको उहाले जानकारी दिनुभयो । गत वर्षकै यार्सागुम्बा जिल्लामै थन्किएका कारण यस वर्ष संकलन पुर्जी लिनेको संख्या कम मात्रामा रहेको उहाले बताउनु भयो ।

गत वर्ष संकलन गरिएको २ किलो ५ सय ग्राम यार्सागुम्बा भाउ नपाएका कारण जिल्लामै थन्किएर बसेको उहाले बताउनु भयो । महंगोमा खरिद गरेको यार्सागुम्बा सस्तोमा विक्रि गर्नु पर्ने बाध्यता आए पछि गत साल संकलन गरेको यार्सागुम्बा थन्किएको व्यापारीहरुले बताएका छन् । संकलन पुर्जी लिए वाफत व्यापारीहरु २५ हजार रुपैया तिर्नु पर्ने उहाले बताउनु भयो । संकलन पुर्जी वाफत ७५ हजार रुपैया राजश्व रकम संकलन भएको उहाले जानकारी दिनुभयो ।

विभागबाट यस वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई ८ सय १० किलोग्राम यार्सागुम्बा संकलन अनुमति प्राप्त भएको उहाले जानकारी दिनुभयो ।

यार्सागुम्बा संकलनका लागी बझाङ्ग, काठमाण्डौबाट व्यापारीहरु दार्चुला सदरमुकाम खलंगा आएका छन् । दार्चुलामा लोलु, अपि फेद, रोखापु, सातगंगा फुल्टीवन, चाइमटेला, घाजिर, धरमघर, घट्टेखोला, काटै, सुर्मा लगायतका वनहरूमा यार्सागुम्बा पाइने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्