रेशम चौधरीलाई सिक्रीले बाँध्नेलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री ओलीको निर्देशन



नेपाल समाचारपत्र,काठमाडौं ।

वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन दाहालले जानकारी दिए ।
उनले भने, ‘चौधरीको खुट्टामा कसले नेल लगाएको हो, उसलाई तत्काल कारवाही गर्न प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’

टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको थियो ।

चौधरीमाथि राज्यले गरेको अमानवीय व्यवहारप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । समाजवादी पार्टी र राजपा का नेताहरुले पनि यो घटनाबारे आपत्ति जनाएका थिए ।

समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै गएर भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्