प्रदेश–३: ‘सांसद्को खल्ती भर्न रकम छुट्याएका होइनौं’



हेटौंडा, (नेस) ।
प्रदेश–३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशले सांसद्लाई खल्ती भर्ने गरी रकम नछुट्याएको दाबी गर्नुभएको छ ।

प्रदेशका निर्वाचन क्षेत्रका पूर्वाधार विकास कार्यक्रमका लागि बजेट छुट्याइएको उहाँले बताउनुभयो । सांसद्लाई बजेट दिएको नभएर प्रदेशका सबै क्षेत्रको सन्तुलित विकासका लागि रकम छुट्याइएको उहाँको भनाइ छ ।

मन्त्री ढुंगेलले कार्यविधि निर्माण गरेर पूर्वाधार निर्माणका लागि बजेट बाँडफाँट गरिने बताउनुभयो । मन्त्री ढुंगेलले पूर्वाधार विकासतर्फ छ्ट्याइएको १ अर्ब ९८ करोड बजेटलाई प्रदेशसभा सांसद्, गाउँपालिकाका जनप्रतिनिधिको सहभागितामा खर्च गरिने बताउनुभयो ।

स्थानीय सरकारसमेतको सहभागितामा विकासका लागि रकम छुट्याइएको उहाँले बताउनुभयो ।

आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह उहाँले आग्रह गर्नुभएको छ । मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले आगामी आर्थिक वर्षका लागि आइतबार संसद्मा प्रस्तुत ४७ अर्ब ६० करोड रुपियाँको बजेट कार्यान्वयन हुने बताउनुभएको हो ।

चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै उहाँले भन्नुभयो–पहिले कर्मचारी थिएनन् । कानुन अभाव, नीति तथा योजना आयोगका सदस्यहरु पूरा नहुनुलगायत समस्याबाट बजेट कार्यान्वयन गर्न सकेनौं । आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयनका लागि कुनै समस्या छैन ।

प्रदेशमा पुँजीगत खर्चको तुलनामा चालु खर्च बढी हुनुमा स्थानीय तहलाई जाने अनुदानसमेत जोडिएको र कर्मचारी पहिले कम भए पनि हाल पर्याप्त भएकोले चालु खर्च बढी भएको उहाँले स्पष्ट पार्नुभयो ।

गत वर्ष प्रस्तुत बजेटमा हेटौंडा–भीमफेदी–कुलेखानी सुरुङमार्गको बजेट अदालतमा मुद्धा परेका कारण कार्यान्वयन हुन नसकेकोले अबको वर्ष यसको कार्यान्वयन गरिने उहाँले आश्वस्त पार्नुभयो । मन्त्री ढुंगेलले एउटा निजी कम्पनीले हेटौंडा–भीमफेदी–काठमाडौं सुरुङमार्ग निर्माण गर्ने भनेर एक दशकबाट अवरोध सृजना गरेका कारण गत वर्ष प्रदेश सरकारले निर्माणको काम गर्न नसकेको बताउनुभयो ।

तर, यस वर्षबाट उक्त बाधा फुक्ने हुँदा निर्माण कार्य सुरु गरिने उहाँको भनाइ छ । यसअघि कसले के ग¥यो, किन निर्माण गरेन भनेर भन्नु भन्दा पनि अब प्रदेश सरकारले कसरी काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले ९ वटा जिल्लालाई समेटेर प्रदेश चक्रपथ निर्माण गर्नेबारे उहाँले प्रष्ट्याउनुभयो । यसको नाम पुष्पलाल प्रदेश चक्रपथ राखिएको छ । संघीय सरकारको समन्वय र सहकार्यमा बनाइने प्रदेश चक्रपथले रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, सिन्धुली र काभ्रेलाई जोड्नेछ ।

सडकले प्रदेशमा पर्ने ९ वटै जिल्ला सदरमुकामलाई जोड्ने आर्थिक मामिला मन्त्री ढुंगेलले बताउनुभयो ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. खिमलाल देबकोटाले अब प्रदेशले गर्ने कामका योजना अनुगमन प्रभावकारी बनाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्