अस्पतालको ‘लापरबाहीका कारण’ डाक्टरको मृत्यु, नोबेल अस्पतालको व्यवहारप्रति परिवारको आपत्ति



भगवती तिमल्सिना, काठमाडौं/सरोज यादव, विराटनगर
आफैं सवारी चलाएर आफ्नो उपचारका लागि नोबेल अस्पताल पुगेका डाक्टर जीवित फर्कन सकेनन् । पूर्व क्षेत्रकै चर्चित वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विमल अग्रवालको ‘अस्पतालको चरम लापरबाही’ का कारण मंगलबार निधन भयो ।

विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ अग्रवाल ४२ वर्षका हुनुहुन्थ्यो ।

अग्रवालको एन्जियोग्राफीपश्चात भएको स्वास्थ्यको प्रतिकूलतालाई लिएर चिकित्सक र आफन्तहरूले गम्भीर प्रश्न उठाएका हुन् ।

वैशाख २३ गते सोमबार देब्रे छातीमा सामान्य समस्या देखिएपछि अग्रवाल नोबेल पुुग्नुभएको थियो । चिकित्सकको सल्लाह बमोजिम सामान्य उपचार गराएर फर्किनुभएका उहाँ पुनः भोलिपल्ट श्रीमतीका साथ अस्पताल जानुभयो ।

उहाँको एन्जियोग्राफी गरेपश्चात स्वास्थ्यमा देखिएको असामान्य अवस्थालाई गम्भीर रूपमा नलिँदा उहाँको असामयिक निधन भएको भन्दै आफन्त रुष्ट बनेका छन् । उपचारकै क्रममा ‘ब्रेनडेथ’ भएपछि कोमामा पुग्नुभएका डा. विमलको मंगलबार राति साढे १० बजे विराटनगरस्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा निधन भएको हो ।

आफन्तको असन्तुष्टि
विमलका बाबु श्रावरमल अग्रवालका अनुसार एन्जियोग्राफी गरेपश्चात् ज्वरो आउन शुरु भएपछि उहाँलाई दुुखाइ कम गर्ने र निद्राको औषधी दिइएको थियो । औषधीको मात्राले पूर्ण बेहोस भए पनि एन्जियोग्राफी गर्दा दिइएको औषधीले दिमागमा असर गरेको उहाँको ठहर छ ।

बिरामी लामो समयसम्म होसमा नआएपछि आमफन्तलाई ‘यस्तो अवस्थामा होसमा आउन तीन–चार घण्टा पनि लाग्छ’ भनेर डाक्टरले सम्झाएका थिए । तर, विमल कहिल्यै होसमा आउनुभएन ।

त्यस दिन विराटनगरस्थित न्युरो अस्पतालका चिकित्सकको टोलीसमेत पुुगेर उहाँको अवस्था हेरेको थियो । तर, त्यति बेला निकै ढिला भइसकेको थियो । उहाँको अवस्थाको साक्षी रहेका उहाँका सहकर्मी एवम् विराटनगर राउन्ड टेबल–११ का संस्थापक अध्यक्ष विकास बेगवानीले चिकित्सकले चरम लापरबाही गरेको आरोप लगाउनुभयो ।

‘सामान्य स्वास्थ्य अवस्था भनेर हेलचेक्र्याइँ गर्दा आज होनहार बालरोग विशेषज्ञले जीवन गुमाउनुपरेको छ’ –बेगनीले भन्नुभयो ।

२४ गते मंगलबार राति विराटनगरस्थित न्युरो अस्पतालका विशेषज्ञसहित भारतको मेदान्त अस्पतालका विशेषज्ञको टोलीले समेत उहाँको अवस्था हेरेको थियो । समयमै उहाँको अप्रेसन भएको भए जीवन जोखिममा नपर्ने चिकित्सकले बताएका छन् ।


‘एन्जियोग्राफी गरेपछि पुनः समयमा फर्केर नहेर्नु गम्भीर लापबाही हो’ विमलका साला कुलदीप अग्रवालले चिकित्सकको भनाइ भन्दै जानकारी दिनुभयो ।
विमलकी श्रीमती पनि चिकित्सक हुनुहुन्छ । उहाँका अर्का साथी एवम् चिकित्सक डाक्टर दिनेश ठाकुरले मेडिकल विधामा योभन्दा अरु हेलचेक्र्याइँ केही हुनै नसक्ने बताउनुभयो । ‘अस्पतालको विशेषज्ञ सेवाप्रति विश्वासका साथ उपचार गराउन पुुगेको विमलप्रति आज यो अन्याय भयो । अरु सामान्य नागरिकको हालत कस्तो होला ?’ उहाँले प्रश्न गर्नुभयो । अस्पतालको यस त्रुटिमाथि न्यायिक छानबिनका लागि आफन्तहरुले माग गरेका छन् ।


११ बजे एन्जियोग्राफी गरिएको व्यक्तिलाई त्यसपश्चात ज्वरो आएको र सिटी स्क्यान गर्न साढे ३ बजाइयो भन्दै आफन्तले तत्काल एमआरआई गर्नुपर्नेमा एमआरआई गर्न ६ बजाइएको, त्यसपछि मात्र मस्तिष्क ब्लक भएको थाहा भएको जानकारी दिएका छन् । यदि एमआरआई गर्न ७ घण्टा नलगाइएको भए त्यो ब्लक खोल्न सकिन्थ्यो ।

अस्पतालको दाबी
नोबेल अस्पतालमा मुटुरोग विशेषज्ञ डाक्टर राजेश नेपालले यो दुर्लभ केस भएको प्रतिक्रिया दिँदै १० हजारमा तीन–चारवटा मात्र यस्तो अवस्था हुन्छ भन्नुभयो । ‘हरप्रयास गर्दा पनि डाक्टर विमलको स्वास्थ्य सामान्य अवस्थामा ल्याउन सकिएन’ नेपालले दाबी गर्नुभयो, ‘बाहिर आएको हल्लाजस्तो हाम्रो हेलचेक्र्याइँले यस्तो परिणाम आएको भने होइन ।’ विमलको उपचारमा नेपालसहित न्युरो सर्जन डाक्टर डिल्ली काफ्ले र न्युरो फिजिसियन डाक्टर प्रकाश काफ्लेको टोली संलग्न थियो ।

बुधबार बिहान विराटनगरस्थित रेन्बोगल्लीमा रहेको अग्रवालको घरमा श्रद्धाञ्जलीपछि अग्रवालको स्थानीय सिंगिया खोलामा अन्त्यष्टि गरियो ।

विराटनगरका स्थानीय अग्रवाल विगत ६ वर्षदेखि कोसी अञ्चल अस्पतालमा कार्यरत हुनुहुन्थ्यो भने अन्य अस्पतालमा पनि बालरोग विशेषज्ञको सेवा दिँदै आउनुभएको थियो । उहाँको निधनले बालरोग चिकित्सकीय सेवामा अपूरणीय क्षति पुगेको यस क्षेत्रका चिकित्सक तथा जनप्रतिनिधिहरुले बताएका छन् ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार पूवी नेपालका लागि यो अपूरणीय क्षति हो ।

चिकित्सक संघ मोरङका अध्यक्ष डा. फरवार्ड सिलवालले पेशागत संगठनमा समेत डा. अग्रवालले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले संघको कोषाध्यक्षमा रहेर चिकित्सकको हकहितका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले स्मरण गर्नुभयो ।

पाँच वर्ष जेल सजायको कानुन
नेपालको फौजदारी संहिता २०७४ अनुसार यदि उपचारका क्रममा चिकित्सकको लापरवाहीले कुनै पनि विरामीको मृत्यु भएको पुष्टि भएमा दण्ड सजायको व्यवस्था गरेको छ ।

भाद्र १ गतेबाट लागू भएको मुलुकी अपराध संहितामा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएमा पाँच वर्षसम्म जेल तथा ५० हजार रुपियाँसम्म जरिवाना हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्