संसदमा राजपाको फेरी अवरोधः लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब



काठमाडौं । राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको पुःन दबाव सिर्जना गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन् ।आफूहरुले लामो समयदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको र सदनबाट रुलिङ भइसक्दा पनि सरकारले रुलिङ नमानेकोतर्फ उनले सभामुखको ध्यानाकर्षण गराए ।

सभामुख कृष्णबहादुर महराले सोमबारको बैठक सुरु भएको जानकारी गराउने बित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुखले सांसद चौधरीलाई बोल्न समय दिएका थिए ।

सभामुख कृष्णबहादुर महराले राजपाले उठाउँदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही सयम पछि उचित जवाफ दिने आश्वासन दिएपछि राजपाका सांसदहरुले आसन ग्रहण गरेका थिए ।

सभामुख महराले भने ‘माननीय सदस्यहरुले उठाउनुभएको विषयमा सरकारको पर्याप्त ध्यान गएको मैले ठानेको छु । कारण सहित केही समय पछि सरकारले उचित जवाफ दिन्छ । माननीय सदस्यहरु उहाँले उठाएको विषयहरु मेरो त ध्यानाकर्षण भएकै छ ।’

यसअघि संसदको अघिल्लो अधिवेशनमा पनि राजपा सांसदहरुले पटक–पटक लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्