प्रत्यारोपण केन्द्रमा आन्दोलनरत नर्स र ब्यबस्थापनबीच १० बुँदै सहमति



पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत नर्स र ब्यबस्थापन बीच दश बुँदै सहमति भएको छ ।सहमति अनुसार केन्द्रमा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट प्राप्त नियमावलीको आधारमा सुरुमा प्राबिधिक तर्फका पदहरुको बिज्ञापन गरी परीक्षा संचालन गर्न र प्रशासन तर्फको बिज्ञापन तथा परीक्षाको लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने सहमति भएको छ ।

केन्द्रको लागि आवश्यक बिभागहरु आईसीयु तथा युरोलोजी,लोकसेवा आयोगको परीक्षा संचालन हुनु अगावै स्थापना गरी सेवा बिस्तार गर्ने पनि सहमति भएको छ ।तत् पश्चात कार्डियोलोजी,हेपाटोलोजी बिभागलाई पनि क्रमश स्थापना गर्दै जाने निर्णय भएको छ ।

यसैगरी प्राबिधिक तथा प्रशासनिक तर्फको परीक्षामा उमेर लगायत अन्य कुनै कारणले करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीले नियुक्ति नपाएमा बिस्तारीत बिभागहरुमा खाईपाई आएको करार नियुक्तिलाई निरन्तरता दिने समेत सहमति भएको छ ।नेपाल सरकारको स्वास्थ्य ऐन तथा श्रम ऐनसँग बाझिएका केन्द्रका नियमावलीलाई परिमार्जन तथा संशोधन गर्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागितामा कार्यदल निर्माण गरी संशोधनको लागि केन्द्रको बोर्ड बैठकमा पेश गर्ने निर्णय भएको छ ।

लोकसेवाको मौखिक अन्तवार्ता निष्पक्षताका लागि लोकसेवा आयोगबाटै अन्तर्वार्ता संचालनका लागि अनुरोध गर्ने तथा लोकसेवा आयोगबाट सहयोग प्राप्त नभएमा स्वास्थ्यकर्मी तथा कर्मचारीको परामर्शमा निष्पक्ष समिति गठन गर्ने समेत सहमति भएको छ ।

सहमतिसँगै केन्द्रमा अनसरनरत स्टाफ नर्स डिक्की शेर्पा र नर्सिङ्ग संघको कार्यालयमा अनसनरतनर्स जिता बराललाई अनसन तोडेका छन् ।सहमति पत्रमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको तर्फबाट रबिता सितीखु,प्रबिना कार्की र सजना देउला तथा केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।वार्ता भक्तपुरका सहायक प्रमुखजिल्लाअधिकारी दिलीप लामिछाने,नर्सिङ्ग संघ अध्यक्ष प्रा.तारा पोखरेल,नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पाको रोहबरमा भएको हो ।

यो सहमितसँगै १० दिनदेखि आमरण अनसनमा बसेका दुई जना नर्सले अनसन तोडेका छन्। भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले आफ्नो सेवा सुविधाबारे ८ बुँदे माग राख्दै गत बैशाख ११ गते देखि यता आन्दोलन जारी राखेका थिए । आन्दोलनरत नर्समध्ये २ जना ८ दिनदेखि आमरण अनसनमा बसेका कारण उनीहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको थियो । आईतबार दिउँसो मन्त्रालयमा र त्यस लगत्तै केन्द्रमा वार्ता भएर सहमति भएको हो ।

माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने आन्दोलनरत नर्सहरुको अडानका कारण तालाबन्दीका कारण अस्पतालको नियमित सेवा ठप्प हुँदा विरामीहरु मारमा परेका थिए ।।यसबीचमा आन्दोलनका क्रममा पटक पटक केन्द्रका नर्सहरु पक्राउ परेका थिए । नर्सहरुको मागविपरीत लोकसेवा आयोगको विज्ञापन खुलेपछि उनीहरु आन्दोलनमा उत्रेका थिए ।

नर्सको आन्दोलनले बिरामीको उपचार प्रभावित भएको भन्दै मृगौला पीडित सरोकार समाज, राष्ट्रिय मृगौला पीडित संघ तथा नेपाल किड्नी समाजले संयुक्त रूपमा प्लेकार्ड देखाएर केन्द्रमा धर्ना दिएका थिए ।

केन्द्रले ९६ जना स्टार्फ नर्सलाई स्थायी पदपूर्ति गर्न वैशाख १३ गते दरखास्त आह्वान गरेको थियो ।बिहीबार विज्ञप्ति निकाल्दै संघले आमरण अनसनमा रहेका नर्सहरूको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक भएकोले यस संवेदनशील परिस्थतिलाई मध्यनजर गर्दै अनसनरत नर्सहरूको जीवन रक्षाका लागि उक्त परीक्षा हाललाई स्थगित गर्न केन्द्रलाई आग्रह गरेको थियो ।

यसैबीच मृगौला पीडितहरु आन्दोलनमा उत्रिएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शुक्रबार नै आन्दोलनरत नर्स र केन्द्रबीच वार्ताको पहल गर्नुभएको थियो। आन्दोलनरत नर्सहरुले अपराधीलाई जस्तो हत्कडी लगाएरु प्रहरीले पक्राउ गरेको भन्दै आपत्ती जनाएका थिए ।

आमरण अनसनका कारण एकातिर दुई जना नर्सको ज्यान जोखिममा पर्दै गएको थियो भने अर्कातर्फ डाइलासिस गर्न आएका बिरामीहरुले डाइलासिस गर्न नपाएर ज्यान गए त्यसको जिम्मेवारी कसले लिने भन्दै सरोकारवालाले चिन्ता प्रकट गरेका थिए

बिहीबार नर्सिङ संघको पहलमा केन्द्रले लोकसेवा आयोगलाई पत्र पठाई परीक्षा स्थगित गर्न आग्रह गरे पनि शुक्रबार लोकसेवा आयोगले भने परीक्षा स्थगित नगर्ने निणर्य गरिसकेको छ ।यता चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसी र नेपाली कांग्रेसले आमरण अनसनमा बसेका दुई जना नर्सको माग पूरा गर्न सरकारसँग आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्