सिटीलाई एफए कपको उपाधि



लन्डन, (एजेन्सी), म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनल खेलमा वाट्फोर्डलाई ६–० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । जितसँगै सिटीले एकै सिजन तीन घरेलु उपाधि जित्दै कीर्तिमान बनाएको छ । सिटी एकै सिजनमा इंग्ल्यान्डका तीन घरेलु उपाधि जित्ने पहिलो क्लब समेत बनेको छ । यसअघि सिटीले प्रिमियर लिग र काराबाओ कपको उपाधि उचालिसकेको छ ।

शनिबार वेम्बली स्टेडियममा सिटीलाई उपाधि दिलाउन रहिम स्ट्रर्लिङले ह्याट्रिक गरेका थिए । यस्तै डेभिड सिल्भा, ग्राबियल जिसस र केभिन डी ब्रुयनेले एक–एक गोल गरे । खेलको २६ औं मिनेटमा स्ट्रर्लिङको पासमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा जेससको पासमा स्ट्रर्लिङले गोल गरेपछि सिटीले पहिलो हाफसम्म २–० ले अघि रहेको थियो ।

खेलको ६१ औं मिनेटमा जेससकै पासमा ब्रुयनेले गोल गर्दै सिटीको अग्रता तेब्बर पारे । ६८औं मिनेटमा ब्रुयनेको पासमा जेससले चौथो गोल थपे । खेलको ८१औं मिनेटमा बनार्डो सिल्भाको पासमा स्ट्रर्लिङले पाचौं गोल सम्भव पारे । खेलको ८७ औं मिनेटमा ब्रुयनेको पासमा स्ट्रर्लिङले पुनः गोल गर्दै ह्याट्रिक पुरा गर्दा सिटीको गोलसंख्या आधा दर्जन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्